साहित्य

साँच्चै शताब्दी टेक्दै शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी भोलि आइतबारदेखि १०० वर्षमा प्रवेश गर्दैछन् । दायित्व वाङ्मय प्रतिष्ठानको १९औँ वार्षिकोत्सवका अवसरमा आज प्रतिष्ठानका महासचिव देवप्रकाश निरौलाले सो जानकारी दिँदै नेपाली कला तथा संस्कृतिका ज्ञाता जोशी नेपाली संस्कृति तथा कलाका गौरव हुनुहुन्छ भने ।

कार्यक्रममा प्रतिष्ठानद्वारा आयोजित विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै शताब्दी पुरुष जोशीले नेपाली कला तथा संस्कृतिको संरक्षणमा युवावर्गलाई सचेत पार्नुपर्ने आवश्यकता औँल्याए ।

जोशीले साहित्यले समाज परिवर्तनमा प्रमुख भूमिका रहने बताउँदै त्यसैले साहित्यकारले कविता लेख्दा पाठकको मन छुने साहित्य लेख्नुपर्ने सुझाव दिए ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदन, बाल साहित्यकार रामबहादुर दाहाल, प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत वक्ताले साहित्यकारहरु सिर्जनाका पारखी भएकाले समाज निर्माणमा प्रभाव पर्नेखालका साहित्य लेख्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा संस्कृतिविद् जोशीले डा विष्णुराज आत्रेय, देवीप्रसाद वनवासी, रामबहादुर पहाडी तथा कलाधर काफ्लेलाई ‘दायित्व वाङ्मय सम्मान’ तथा कृष्ण प्रधानलाई ‘हरिकला–गुणाकर दायित्व रचना पुरस्कार’ प्रदान गरे ।

प्रधानले प्राप्त गरेको रचना पुरस्कारको राशि रु १० हजार तथा सम्मानपत्र रहेको छ ।