साहित्य

‘देशको माटो’ बजारमा

काठमाडौँ । कवि हेमनाथ घिमिरेको ‘देशको माटो’ कविता संग्रह सार्वजनिक भएको छ ।

सिसार साहित्य समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा ४५ वटा कविता समेटिएको संग्रह लोकार्पण गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसचिव कृष्ण ज्ञवालीले कवितामा प्रयोग हुने एउटै शब्दले महत्वपूर्ण भाव बुझाउने भएकाले कविताको महत्व साहित्यका अरु विधा बढि रहेको विचार व्यक्त गरे ।

पछिल्लो समय छन्दका कविता लेखन कम हुन थालेकाले यसको संरक्षण हुनुपर्नेमा उनले भने । कार्यक्रममा नेपाली भाषा बचाऊ अभियानका चुडामणि गौतमले भाषा पढाउने प्राध्यापकले आयोजना गरेका कार्यक्रमकै ब्यानर र दस्तावेजमा त्रुटि हुनुलाई स्वभाविक मान्न नसकिने बताए।

अभियानले चलाएको आन्दोलनकै कारण नेपाली वर्ण विन्यासको गल्ती हटी नेपाली बृहत् शब्दकोशको नवौँ संस्करण प्रकाशन भएको उनले सुनाए । कवि घिमिरेको यसअघि ‘छातीभित्र देश दुख्दा’ पद्य कविता संग्रह प्रकाशन भएको छ ।

कार्यक्रममा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीका कृति ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ र ‘शिव एक रुप अनेक’ को चर्चासमेत सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै समालोचक रामप्रसाद ज्ञवालीले पूर्वीय दर्शनको विश्लेषण खोजपरक ढंगले गर्न अनुरोध गरे ।

सो अवसरमा पूर्वराजदूत हरिकुमार श्रेष्ठ, गीतकार सुदर्शनविक्रम राणा, पद्मकन्या बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख केशव सापकोटा, साहित्यकार भुवनहरि सिग्देललगायतले नेपाली साहित्यका धेरै कृतिमा पूर्वीय दर्शनको प्रभाव रहेको बताए ।