शिक्षा

दृष्टिविहीन विद्यार्थीलाई मोबाइल दिईयो

काठमाडौँ । अपांगता भएको व्यक्तिको शैक्षिक अधिकार प्रवद्र्धनका लागि क्रियाशील नेपालले दृष्टिविहीन विद्यार्थीहरुलाई ‘एनड्रोइड मोबाइल’ वितरण गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र काठमाडौँ महानगरपालिकाको सहकार्यमा क्रियाशील नेपालले आज यहाँ आयोजना गरेको ‘दृष्टिविहीन विद्यार्थीको पढाइ क्षमता अभिवृद्धि प्रविधिकरण र एनड्रोइड मोबाइल वितरण’ कार्यक्रममा १० जना दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण गरेको हो ।

मोबाइलमा दृष्टिविहीन विद्यार्थीले पुस्तक डाउनलोड गरेर अध्ययन गर्न सक्नेछन् । यसअघि सो संस्थाले विभिन्न जिल्लाका करीब ५५० दृष्टिविहीन विद्यार्थीलाई एनड्रोइड मोबाइल वितरण गरिसकेको जनाएको छ ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला विभागकी शाखा अधिकृत निरा अधिकारी र कामपा, सामाजिक विकास विभागका विभागीय प्रमुख नूरविधि न्यौपानेले मोबाइल वितरण गर्दै दृष्टिविहीन विधार्थीको शिक्षामा सहज पहुँच पु¥याउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय अपांग महासंघ नेपालका सचिव ओमप्रकाश बञ्जाडे र रोठरी क्लब अफ जावलाखेलका सहसचिव तीलक तिवारीले अपांगताको क्षेत्रमा प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि संयुक्तरुपमा संघर्ष गर्नुपर्नेमा जोड दिए ।

क्रियाशील नेपालका संस्थापक अध्यक्ष डा वीरेन्द्रराज पोखरेलले शिक्षामा पहुँच बढाउनका लागि क्रियाशील नेपालले गाउँगाउँका दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण गर्ने योजना रहेको जानकारी दिए ।