स्वास्थ्य

फौजीकीराको बिगबिगीले पशुचौपाया धमाधम मर्न थाले

गाईघाट । विगत केही दिनयता देखि उदयपुर बेलका नगरपालिका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्दा जंगल चर्न जाने पशुचौपाया मर्न थालेका छन् ।

बेलका नगरपालिकाको बंगलामुखी, खयरमारा, जहडा, सिसुवा, रातापानी, गलेनी र सेतीखोलालगायत आसापासका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्न थालेपछि जंगल चर्न जाने पशुचौपाया मर्न थालेका हुन् ।

बेलका ४ का कृष्णप्रसाद पौडेलका अनुसार जंगल क्षेत्रमा सबैतिर फौजिकीराको बिगबिगी बढ्दै जानथालेको र फौजिकीराले हरियो दुबो तथा बिरुवाको पात खानेगरेको र सोहि घाँस खाँदा पशु चौपाया मर्न थालेको बताउछन् ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार जंगलको घाँस खानाले अहिलेसम्म आधादर्जन भन्दा बढी गाई मरिसकेका छन् भने धेरै गाई, भैँसी र खसी, बाख्रा समेत बिरामी परेका छन् ।

बेलका नगरपालिकाका कृषि प्राविधिक नगरनाथ रेग्मी भन्छन्, “दिनमा जंगलमा बस्ने र राति फौजीकीरा गाउँघरसम्म आउने गरेका छन्, घाँस तथा दुबोमा फौजीकीराले खाने प्रदूषण गर्नाले त्यसको विषले केही जनावार मरेका र केही बिरामी हुन थालेका छन् ।”

फौजीकीरा मार्न गाउँघरवरपरका रुख बिरुवामा विभिन्न विषादी ‘ल्कोरोफिल’ लगायतका पदार्थ छर्कने र प्रयोग गरेपनि फौजीकीरा नियन्त्रण नभएको रेग्मीले बताए ।

फौजीकीराको बिगबिगीका कारण केही जनावर मर्न थालेको र खसी, बोकादेखि गाईभैँंसीसम्म बिरामी परेपछि यसको नियन्त्रणका लागि क्षेत्रीय कृषि विकास केन्द्र विराटनगरको प्राविधिक टोली ल्याउन लागिएको बेलका नगरका प्रमुख थापा र अर्का प्राविधिक रेग्मीले बताउनु भएको छ ।

स्थानीयवासी रमण भट्टराईका अनुसार जंगलका हरिया घाँस तथा रुख बिरुवाका पातमा फौजीकीराले खाएर फोहोर बनाएको र ती घाँस ल्याएर घरमा जनवारलाई खुवाउँदा र जंगल चराउन लाँदा पशुचौपाय मर्ने वा बिरामी हुन थालेका छन् ।