अन्तर्राष्ट्रिय

बलात्कारपछि किशोरीलाई जिउँदै जलाइयो

काठमाडौं । भारतको मध्य प्रदेशमा एकजना किशोरीको बलात्कारपछि जलाएर हत्या गरिएको छ। भारतमा गत एक हप्ताभित्र यस्तो भएको यो तेस्रो घटना हो।

मध्य प्रदेशको सागर जिल्लामा १६ वर्षीया किशोरीलाई बलात्करपछि उनकै घरमा मट्टितेल छर्केर जलाइएको हो।

प्रहरीका अनुसार किशोरीले बलात्कारबारे आफन्तहरूलाई बताइदिने भनेपछि उनको हत्या गरिएको थियो।

आरोपित
प्रहरी अधिकारी कमल ठाकुरले स्थानीय पत्रकार शुरेह नियाजीलाई भने, ूघटना भएको बेला पीडित किशोरीको परिवारका सदस्य घरमा थिएनन्। आरोपितलाई पक्राउ गरिएको छ र सोधपुछ भइरहेको छ।

घटना भएको जिल्ला मध्य प्रदेशका गृहमन्त्री भूपेन्द्र सिंहको क्षेत्रमा पर्छ।

सोही प्रकृतिका दुईवटा घटना यसै हप्ता झारखण्ड राज्यमा भएका थिए। एक युवतीको मृत्यु भएको थियो भने अर्को घाइते भएकी थिइन्।

हालै एकजना आठ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्यासहित अन्य दुई फरक बलात्कारका घटना बारे भारतभरि आक्रोश व्यक्त गरिएको छ।

त्यसपश्चात् भएका व्यापक विरोध प्रदर्शनहरूपछि भारत सरकारले १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था ल्यायो।

प्रवृत्ति
भारतमा कैयौँ गम्भीर प्रकृतिका अपराधमा मृत्युदण्डको सजाय दिइन्छ।

तर बालिका बलात्कार गर्नेलाई अहिलेसम्म त्यस्तो सजायको व्यवस्था गरिएको थिएन।

सन् २०१६ मा झण्डै ४० हजार बलात्कारका घटनाबारे उजुरी परेको थियो।

तर बलात्कार तथा यौन हिंसालाई सामाजिक कलङ्कका रूपमा हेरिने कारणले कैयौँ घटनाको उजुरी नै नपर्ने ठानिन्छ।

बीबीसीका सौतिक विश्वास लेख्छन्, शक्ति प्रदर्शन र कमजोर वर्गलाई तर्साउन भारतमा बलात्कारलाई अस्त्रको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ। -बिबिसी नेपालीको सहयोगमा