समाचार

भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा सकियो विशेष पूजा

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्र जानु भई हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गरे ।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्नु भएको थियो । पशुपतिनाथ मन्दिर परिसरमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष रवीन्द्र अधिकारीले स्वागत गरेका थिए । उनको स्वागतमा कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारीलगायत श्रद्धालु भक्तजनको उपस्थिति थियो ।

भारतीय प्रधानमन्त्री मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताएका थिए । प्रधानमन्त्री मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए । उनले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरे । मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराएका थिए ।

पूजापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै मन्त्री अधिकारीले मन्दिर परिसरमा भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजा गर्नुभएको जानकारी दिए ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गर्नुभएको थियो । त्यसबेला पूजापछि उहाँले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि भारतीय रुपैयाँ रु २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेका थिए ।