समाचार

पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ ।

मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो ।

हालै सम्पन्न निर्वाचनमा रजाकको पार्टी पराजित भएको थियो भने उनले सत्तामा रहदा शक्तिको दुरुपयोग गरेको अरोप लगाइएको छ । विभागले रजाकसँगै उनकी श्रीमती रोश्मा मनसुरलाई पनि देशबाट बाहिरिन प्रतिबन्ध लगाएको जनाएको छ ।

विभागले आफूहरुलाई देशबाट बाहिरिन प्रतिबन्ध लगाएको सार्वजनिक भएपछि ट्वीट गर्दै नाजिबले लेख्नु भएको छ, “म र मेरो परिवारलाई मलेसियाका आप्रवासन विभागले देश छाड्न प्रतिबन्ध लगाएको बारेमा मलाई पहिले नै थाहा थियो ।” उहाँले थप लेख्नु भएको छ, “मैले त्यो निर्देशनलाई सम्मान गर्नेछु र म मेरो परिवारसँगै स्वदेशमै बस्ने छु ।

यसै हप्ता भएको ऐतिहासिक निर्वाचनमा नजाबले नेतृत्व गरेको बरिसान राष्ट्रिय गठबन्धन पराजित भएको थियो । सो गठबन्धन सन् १९५७ मा मलेसिया स्वतन्त्र भएदेखि सत्तामा रहेकोमा अव सत्ता बाहिर रहने भएको छ ।

यस निर्वाचनमा पाकाटन हारापन गठबन्धनले बहुमत ल्याएर गठबन्धनका नेता तथा पूर्व प्रधानमन्त्री माहाथिर मोहमदको नेतृत्वमा नयाँ सरकार पनि गठन गरिसकिएको छ ।

बिहीबार प्रधानमन्त्रीमा नियुक्ति भएका मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन् । आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताएका छन् । -रासस÷सिन्ह्वा