समाचार

उपत्यकाबाट ३१ मेट्रिक टन फोहर तह लगाईयो

–पूर्णप्रसाद मिश्र
काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २६१ औँ हप्तामा शंखमूल क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन भयो । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको सुरक्षामा सुरक्षाकर्मी खटिएकाले थोरै सुरक्षाकर्मी सफाइमा सहभागी थिए ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाई, ठकुरी समाजलगायत संस्थाका गरी ४५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता नारायणकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।

वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा वाग्मती सभ्यता दुत एवं नायिका मनिषा कोइराला, नायिका वेनिशा हमाल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियन्ताको सफाइमा सहभागिता थियो ।

सफाइ अभियान शुरु भएको पाँच वर्षका अवसरमा आगामी शनिबार जेठ ५ गते शंखमूल क्षेत्रमा बिहान सफाइ गरिने छ । बेलुकी शंखमूल क्षेत्रमै मैनबत्ती प्रज्ज्वलन गरिने जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२२ औँ हप्ताको कार्यक्रम वाग्मती, सूर्यमती र चन्द्रमती नदीको संगमस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरियो । सफाइको संयोजन गोकर्णेश्वर नगरपालिकाको वडा नं ४ कार्यालयले गरेको थियो ।

सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन ग¥यो । कुहिने फोहर खाडल खनेर पुरियो ।

सफाइमा वाग्मती सुन्दरता सरोकारमञ्च, कान्ति भैरव गुरुकूल, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटी,लगायत स्थानीयवासी गरेर २०० भन्दा बढीको सहभागिता थियो । सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरकी उपप्रमुख शान्ति नेपाल, नगरपालिका – ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठलगायत सदस्यको पनि सक्रिय सहभागिता थियो ।

वडा अध्यक्ष श्रेष्ठको संयोजकत्वमा सफाइ अनुगमन समिति गठन गरिएको छ । २२३ औँ हप्ताको सफाइ पनि तीनै नदीको संगमस्थलमा गरिनेछ । रुद्रमती सफाइको २१६ औँ हप्तामा रातोपुल– मैतीदेवी–सेतोपुलसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० अभियन्ताको सक्रियता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह लगायतको संस्थागत सहभागिता थियो ।
विष्णुमती सफाइ अभियानको १८८ औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ९ स्थित गोंगबु गणेशस्थान क्षेत्रमा गरियो । आजको सफाइबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले राससलाई जानकारी दिए । सफाइमा २०० भन्दा बढी अभियन्ताको सक्रियता थियो ।

मनोहरा नदी सफाइको ५९ औँ हप्तामा आज जडीबुटी पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले राससलाई जानकारी दिए ।

चक्रपथ सफाइको ५७ औँ हप्तामा बिजी मलदेखि सामाखुशी चोकसम्म सफाइ गरियो । सफाइमा २५० भन्दा बढी अभियन्ताको सक्रियता थियो । सफाइबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । डोजरले माटोको ढिस्को पन्छ्याउने काम पनि गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए ।

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगर सफाइको ५७ औँ हप्तामा मातृशक्ति सफाइ समूहले जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरेको संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिए ।

चक्रपथ बाफल खण्ड सफाइको ३९ औँ हप्तामा मिलनटोलबाट बाफल क्षेत्रसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ अभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ । सफाइ अभियान शुरु भएको पाँच वर्षमा विशेष कार्यक्रम गर्ने तयारी भएको छ ।