राजनीति

दुवै देशका विकासका नारा एकआपसका परिपूरक : प्रधानमन्त्री मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री मोदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा भारतको साथ र सहयोग रहने बताए।

आफ्नो सरकारले भारतमा विकासका लागि ‘सबका साथ सबका विकास’ को नारा अघि सारेको र नेपालमा पनि प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सारेको उल्लेख गर्दै उनले दुवै नारा एकअर्काका परिपूरक भएको टिप्पणी गरे ।

नेपाल र भारतबीचको सम्बन्ध सरकारभन्दा माथि रहेको चर्चा गर्दै प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्ध जनस्तरमा गहिरो र मित्रतापूर्ण रहेको चर्चा गरे । उनले भने, “मेरो नेपाल यात्रा एक यस्तो ऐतिहासिक समयमा भएको छ जतिखेर नेपालमा तीन तहका निर्वाचन सफलरुपमा सम्पन्न भएका छन्, नेपालको इतिहासमा यो काल स्वर्णीम अक्षरले लेखिनेछ ।”

आफू प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल भ्रमणमा आएको बताउँदै उनले यसबाट नै आफ्नो र भारतसँगको नेपाल सम्बन्ध कति गहिरो छ भन्ने पुष्टि भएको उल्लेख गरे । प्रधानमन्त्री मोदीले विकास यात्रा र राष्ट्र निर्माणका लागि प्रधानमन्त्री ओलीको नेतृत्व भरोसा प्राप्त भएकामा शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला दुई देशको विकासको सम्भावनाका बारेमा प्रशस्त छलफल भएको बताउँदै उनले छोटो समयमा नै नेपाल र भारतबीचमा विभिन्न मुद्दामा छलफल भई कतिपय मुद्दामा कामसमेत भएको बताए । उनले भने, “दुई देशबीचमा भएका कृषि, रेल र जलमार्गमा काम अघि बढाउन शुरुआत भएको छ ।” यस सम्झौताले दुवै देशको जनताको व्यवसायमा अभिवृद्धि हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले भने, “नेपाल भूपरिवेष्ठित मुलुक होइन, बरु जमिन र जल यातायातले सम्पर्क सञ्जालले जोडियोस्, प्रधानमन्त्री ओलीको यस दृष्टिकोणलाई साकार बनाउन भारत हरसम्भव सहयोग गर्ने प्रतिबद्धता छ ।”

नेपालको स्वास्थ्य क्षेत्रका सहयोगको नयाँ कदम उठाएको उल्लेख गर्दै उनले भक्तपुरको क्यान्सर अस्पतालमा बिरामीको उपचारका लागि रेडियो थेरापी मेसिन जडान गर्ने प्रतिबद्धता व्यक्त गरे

संखुवासभामा रहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको शिल्यान्यासले रोजगारका अवसरका साथै आर्थिक र व्यावसायिकता उत्पन्न हुने उनको भनाइ थियो । सो परियोजना आज शिलान्यास गरिएको छ ।

नेपाल र भारत आदिकालदेखि नै नदी र हिमालय पर्वतमालाले जोडिएको बताउँदै उनले वर्तमान समयमा आफूहरु रेलमार्ग, जलमार्ग, प्रशारण लाइन र पाइपलाइनले जोडिन अत्यधिक प्रयासरत छौँ भने ।

दुई देशको सिमाना खुला भएको र यसमा अवान्छित तत्वद्वारा दुरुपयोग हुन नदिने बताउँदै दुवै देशका प्रधानमन्त्री सिमानाको रक्षा र सुरक्षा मजबुत बनाउन प्रतिबद्ध रहेको बताए । दुवै देशको पर्यटन प्रवर्धनका लागि रामायण र बुद्ध परिपथलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले रामायण परिपथलाई जोड्न आजमात्रै काम अघि बढेको जानकारी गराए । उनी दुईदिने नेपालको राजकीय भ्रमणका लागि शुक्रबार काठमाण्डौ आइपुगेका हुन् ।