राजनीति

संघीयताले देशको अस्तित्व समाप्त पार्छः नेता केसी

पोखरा । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ‘नेपाली जनताको चाहनाविपरीत लादिएको’ संघीयताले देशको अस्तित्वलाई संकटमा पर्ने बताएका छन्।

जनमोर्चाको भ्रातृ संगठन अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलनको यहाँ आज उद्घाटन गर्दै उनले विप्रेषणले धानेको देशको अर्थतन्त्रले संघीयता धान्न नसक्ने बताए ।

मुलुकमा रोजगारीको सिर्जना गर्न नसक्दा अहिले पनि दैनिक एक हजार ५०० युवा विदेशिने गरेको उल्लेख गर्दै उनले नागरिकको सेवाभन्दा विदेशीको सेवा गरेर सत्ता टिकाउने खेल भएसम्म देशमा समृद्धि नआउने बताए ।

‘राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ आयोजित तीनदिने सम्मेलनमा मुलुकका ६० जिल्लाका ५०० प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको संघका केन्दीय अध्यक्ष तिलक थापाले जानकारी दिए ।