पर्यटन/संस्कृति

देशलाई समृद्धितर्फ लैजाने मुख्य आधार पर्यटनः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विकास र समृद्धिको नयाँ यात्रातिर देश अघि बढेको बताएका छन् ।

पर्यटन व्यवसायी राजन सिम्खडाद्वारा लिखित ‘हिँडे पुगिन्छ’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले देशलाई समृद्धितर्फ लैजाने मुख्य आधार पर्यटन क्षेत्र नै भएकाले यसको प्रवर्धनमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

“अब, हामीले विकास र समृद्धिको नयाँ यात्रातिर देशलाई लैजानुछ, त्यसको प्रमुख आधार भनेको पर्यटन क्षेत्र हो, थोरै लगानीमबाट राष्ट्रिय पुँजीको विकास गर्न सकिने एउटै मात्र आधार पनि पर्यटन हो,”–अध्यक्ष दाहालले भरे ।

उनले व्यवसायी सिम्खडाको सरल र आकर्षक शैलीमा लेखिएको पुस्तक आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रमा आकर्षित गर्ने तथा युवा पुस्तामा नयाँ आत्मविश्वास र ऊर्जा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।
पूर्वअर्थमन्त्री एवं साहित्यकार शंकरप्रसाद कोइरालाले समृद्धिको आधार पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकीकरण गरी पूर्वाधार विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । युवा व्यवसायी सिम्खडाको पुस्तकले ‘निरन्तर कर्ममा लागे सफलता प्राप्त हुन्छ’ भन्ने कर्मशील सन्देश प्रवाह गरेको उनले उल्लेख गरे ।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले समस्याको साक्षात्कारबाटै विकल्प निस्कन्छ र कर्ममा लागिपरे फल प्राप्त हुन्छ भन्ने सकारात्मक सन्देश पुस्तकले दिएको बताए ।

हास्यकलाकार शैलेन्द्र सिम्खडा, सीताराम कट्टेल ‘धुर्मुस’लगायतले मानिसलाई निरन्तरको कर्मले सफल बनाउँछ भन्ने सन्देश पुस्तकले दिएको बताए ।

लेखक सिम्खडाले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन पर्यटनको माध्यमबाट योगदान गर्न सकिन्छ र इच्छा शक्ति भए स्वदेशमै केही गर्न सकिन्छ भन्ने पुस्तकले प्रेरणा जगाउने बताए ।

पुस्तकका प्रकाशक प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नवीन काफ्लेले नेपालको समृद्धिमा सिर्जनात्मक सोचलाई कसरी उपयोग गर्न सकिन्छ भनेर पुस्तकले युवा पुस्तालाई उत्प्रेरित गरेको बताए ।

सो अवसरमा रु ५० हजार राशिको ‘स्व नारायणप्रसाद सिम्खडा युवा कृषि उद्यमी पुरस्कार’ घोषणा गरियो । उक्त पुरस्कार कृषि क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष प्रदान गरिनेछ ।