पर्यटन/संस्कृति

पशुपतिमा भारतका प्रधानमन्त्री मोदीको विशेष पूजा तयारी पूरा

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथमा विशेष पूजा एवं दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान साढे दश बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्नु हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपतिमा सरसफाइ, स्वागतद्वार निर्माण लगायत सबै तयारी पूरा भएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेको पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको उनले सुनाए । सहयोगसम्बन्धी त्यो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ ।

चार वर्षअघिको भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ मन्दिरमा भएको पूजाका अवसरमा १२ वर्ष अघिदेखि रोकिएको नेपाल–भारत मैत्री धर्मशाला निर्माणको बाटो खुला भयो । धर्मशाला निर्माण हाल अन्तिम चरणमा पुगेको छ । कोषले उपलब्ध गराएको १६ रोपनी जग्गामा भारत सरकारले तीन तारे होटलस्तरको धर्मशाखा निर्माण गरिरहेको छ ।

धर्मशालामा ४०० जनाको क्षमता छ । धर्मशालाको निर्माणपछि पशुपतिमा विश्वका धार्मिक पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ ।