स्वास्थ्य

रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा गरे महान काम !

रुकुम । गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका छन् ।

जिल्लाको भुमे गाउँपालिका–३ को बिकट बस्ती झुम्लाबाङका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका हुन् ।

गाउँमा महिला सुत्केरी हुन नसकेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिकट भएका कारण बाटोमै मृत्यु हुन थालेपछि स्थानीयवासी आफँैले अस्पताल स्थापना गरेको झुम्लाबाङ– भेलेज फाउण्डेशनका अध्यक्ष रामबहादुर बुढाले बताए ।

भुमे गाउँपालिकाको केन्द्रबाट चार घण्टाको पैदल दूरी लाग्ने झुम्लाबाङका १६५ घरधुरीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । औषधि र स्वास्थ्यकर्मीको पारिश्रमिकका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएकाहरुले आर्थिक सहयोग स्वरुप रकम पठाइरहेको अध्यक्ष बुढाले बताए ।

राज्यको कुनै पनि सहयोग नरहेको यो अस्पतालमा अहिले दैनिक रुपमा पाँच सातजना बिरामीले सेवा लिने गरेको बताइएको छ ।

यहाँ दैनिक सामान्य उपचार गरिन्छ । तीन–तीन महिनाको फरकमा विदेशी विशेषज्ञ डाक्टरसहितको टोलीले यहाँ निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख शिवकुमार बुढाले जानकारी दिए । गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्नका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएका ८० जनाले सहयोग गरेको बताएको छ ।

स्वास्थ्य केन्द्र निर्माण, औषधि तथा स्वास्थ्यकर्मीको पारिश्रमिकमा अहिलेसम्म रु पाँच करोडभन्दा बढी खर्च भएको प्रमुख बुढाले बताए ।

गाउँमा कसैलाई सानो समस्या हुनेबित्तिकै उपचार सेवा लिने गरेको उनको भनाइ छ । यहाँका स्थानीयवासीले २०६९ सालमा झुम्लाबाङ भेलेज फाउण्डेशन नामक संस्थासमेत स्थापना गरेका छन् ।