अन्तर्राष्ट्रिय

सिंगापुरमा हुन लागेको ट्रम्प र किमको शिखर वार्ताबारे सिंगापुरका प्रधानमन्त्री के भन्छन् ?

सिंगापुर । सिंगापुरका प्रधानमन्त्री लि सेन लुङले अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको शिखर वार्ता शान्ति स्थापनाका लागि एक महत्वपूर्ण कदम भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा हुने भएको छ ।

प्रधानमन्त्री लिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटको प्रतिउत्तरमा भनेको छः हामीलाई लाग्छ यसले आगामी दिनमा विश्व शान्तिको लागि सही मार्गनिर्देश गर्नेछ ।

उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारेको अन्योल हटाउने विषयमा सिंगापुरमा जुन १२ मा वार्ता हुन लागेको हो ।

विश्व समुदायबाट व्यक्त चासोको अन्त्य गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा बिहीबार बहुप्रतिक्षाको विषय रहेको सो भेटवार्ता जुन १२ मा हुन लागेको छ ।

उक्त वार्तामा हुने कुराकानीको विषयमा भने सन्देशमा केही उल्लेख गरिएको छैन । उनले विश्वकै चासोको र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा वार्ता हुने ट्वीटरमार्फत जनाएका छन्।

यसअघि नै यसै वार्ताको बिषयलाई लिएर राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग पनि फोनवार्ता गरेका थिए।

ती एसियाली नेताहरूको छलफलको बारेमा जापानी प्रधानमन्त्री आवेले अमेरिकी राष्ट्रपतिलाई पनि जानकारी गराउनु भएको समाचारमा जनाइएको थियो । प्रधानमन्त्री आबे र राष्ट्रपति ट्रम्पबीच पनि केही दिनअघि मात्र कुराकानी भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीच गर्ने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको पनि बताएका छन् । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई पनि बुधबार नै रिहा गरेको छ ।

यसै उच्चस्तरीय भेटवार्ताको तयारीको लागि अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । सो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको थियो ।

उहाँले यी दुई देशका उच्च नेताबीच हुनलागेको आसन्न वार्ताको वातावरण निर्माण भएको बताउनुभएको छ । उहाँ अघोषित रूपमा बुधबार उत्तर कोरिया पुग्दा नागरिकमा वार्ताको लागि आशाको सञ्चार भएको बताइएको थियो ।

सो वार्ताको सफलताको लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही दिनयता विभिन्न एसियाली देशका नेताहरुसँग फोनवार्ता जारी राख्नुभएको छ । उहाँले उत्तर कोरियासँग वार्तामा बस्न आफू प्रतिक्षारत रहेको पनि बताएका छन् । -रासस÷सिन्ह्वा