समाचार

भारतीय प्रधानमन्त्री दामोदारदास मोदीले यस्तो विधिबाट पूजा गरे !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गरे ।

मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुन् ।

षोडशोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शङ्गारका सामग्री अर्पण गरिने चलन छ ।

ईश्वर अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री, धीर गम्भीर राजकुमारी, आज्ञाकारी शिष्या, अनन्त सखी, मर्यादित पत्नी, मृदुभाषणी गरिमामयी कुलवधु, प्रकृति स्वरूपा सबल नारी , संकटका बेला स्मरणीय चरित्र, ममतामयी माता तथा देवतुल्य भएकी कारण सीतालाई पूज्यनीय र अनुकरणीय मानिएको छ ।

यस सन्दर्भमा एक पटक भारतीय समाजवादी नेता चन्द्रशेखर जनकपुरधाम आएका बखत आयोजित अभिनन्दन कार्यक्रममा भावविभोर भई जानकीको वन्दना गर्दै भगवान् रामलाई पुरुषार्थको प्रेरणा जानकीबाट नै प्राप्त भएको प्रसङ्गले पनि अनन्य भावलाई स्पष्ट गर्छ ।

सनातन संस्कृतिको विशिष्ट तत्वका रूपमा सम्पूजित जानकी माताको दर्शन सन्दर्भमा यसअघि भारतीय राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जेल सिंह र प्रणव मुखर्जीले पनि धर्ती पुत्री जानकीको पूजाआराधना गरेको देखिन्छ ।

जनकपुरधाम मिथिलाका राजा जनकको घर र जानकीको जन्मस्थल भएकाले विदेह परम्पराको निरन्तरताका रूपमा विशिष्ट पाहुनालाई षोडशोपचार विधिबाट पूजा अर्चना गराइने परम्परा छ ।

जनक वंशको नामबाट यस नगरको नाम जनकपुरधाम रहन गएको हो र पौराणिककालमा मिथिला प्रदेशको राजधानी रहेको थियो ।

जानकी मन्दिरलाई माता जानकीको निवासस्थल मानिएको छ । धार्मिक मान्यताअनुसार जानकी मन्दिरको प्रधान गर्भगृह माता जानकीको कोहवर छ जहाँ जानकी र राम शयन गर्छन् ।

मुगल, हिन्दू र मैथिल वास्तु शैलीको अनुपम संगमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, शीशमहल र नेपालको ताजमहल भनेर सो मन्दिर प्रख्यात रहेको छ ।

सो मन्दिरमा महात्मा सुरकिशोर दास र ओरछा नरेश तथा महारानीले प्रतिष्ठापित गरेका सीतारामका मूर्तिहरू रहेका छन् । मूर्तिलाई चाँदीको पाताले मोडिएको रथ आकार झैँ भान हुने विशाल एवं कलात्मक सिंहासनमा आकर्षक ढंगले सजाएर राखिएका छन् ।

भगवान् सीतारामका मूर्तिहरू राखिएको कोठामा बस्ने मूलद्वार पनि चाँदीले नै मोडिएका छन् । यसको अगाडि सानो जगमोहन छ । गर्भगृहको मूलद्वारसँगै जोडिएर यसको दुवैतिर दायाँ बायाँ स–साना बरण्डा बनाइएका छन्, जसलाई मिथिला वास्तुकलाको विशेषताका रूपमा लिइन्छ ।

गर्भगृह प्रवेश गर्ने मूलद्वारको दुवैतर्फको भित्तामा जीवनगाथासँग सम्बन्धित चित्रहरूले जीवन्तता दिन खाजेको जस्तो लाग्छ । भगवान् सीतारामको सिंहासनको पछिल्लो भागमा अष्ठकुञ्ज नामक आठ कोठा छन् ।

यी कोठामध्ये दुई कोठा पाताल जाने बाटो भएको बताइन्छ । अन्य कोठा भगवान्को शयन र स्नानका लागि प्रयोग गरिन्छ ।

जानकी मन्दिरमा कलाकारको मीठो सपना बोलेको देखिन्छ । यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना–ठूला गुम्बज र बुर्जाहरूले घेरिएको छ ।

सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा रहेका छन् ।

मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक रहेको छ भने जगमोहन मन्दिरको चारैकुनामा तीन–तीन वटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाहरूका साथै अन्य साना–ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुरहरू, फराकिलो परिसर र प्रवेशद्वारका दुवैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ ।

सो मन्दिरको निर्माण मध्य भारतका ओरछा टिकमगढका महाराजा प्रतापसिंहका पत्नी वृषभान कुँवरीले पुत्र प्राप्तिको खुशियालीमा विसं १९६७ माघ २८ गतेमा निर्माण गराएकी थिइन् ।

सो मन्दिरको निर्माणमा त्यसबेलाको ब्रिटिस महारानीका चाँदीका सिक्काहरू ३–४ लाख खर्च भएको भनिए पनि मन्दिर बनाउन शुरूमा नौ लाख संकल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा रु १५ लाख खर्च र १२ वर्ष लागेको बताइन्छ ।

जानकी मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ । यस सन्दर्भमा यो पनि भनाइ रहेको छ कि महाराजा र महारानी जानकी मन्दिर बनाउन जति पनि खर्च गर्न तयार थिए । इकाइमा सो रकम भन्नु पर्दा नौ नै भन्नु परेकाले नौ लाख भनिएको हो ।

हिन्दू बाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवन, इमारतलाई सबैभन्दा उत्तम दर्जाको इकाइमा भन्नु पर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरिएकाले नौलखा भनिएको भन्ने मान्यता पनि पाइन्छ ।

सो मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढंगबाट रोमनमा एसपी लेखिएको देखिन्छ ।

जानकी मन्दिरमा पूजाअर्चनाका लागि आउँदा भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी मन्दिर परिसरमा रहेको शालिग्राम मन्दिरमा पूजाअर्चना र अखण्ड सीताराम भजनमा स्तुति गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोशन दासले मैथिल संंस्कृतिअनुसार स्वागत गर्नुभएको थियो ।