पर्यटन/संस्कृति

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका लागि रु ३३ लाख

रामपुर, पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा ओमशान्ति तथा ब्रह्मकुमारी राजयोग केन्द्रको भवन निर्माणका लागि रु ३३ लाख रकम संकलन भएको छ ।

यहाँका स्थानीयवासीले भवन निर्माणका लागि रु चार लाख बराबरको जिन्सी सहयोग गरेको रामपुर शाखाका प्रमुख ब्रह्मकुमारी सरस्वती बताउछन् ।

रामपुरवासीको सहयोगमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय रामपुर शाखाको आयोजनामा रु एक करोडको लागत अनुमानमा भवन निर्माण कार्य भइरहेको छ । एक हल, एक ध्यानकक्ष रहने गरी दुईतले १६ कोठाको बगैँचा सहितको भवन निर्माण कार्य धमाधम भइरहेको भवन निर्माण समितिका अध्यक्ष ऋषिराम भट्टराईले बताए ।

रामपुर नगरपालिका–५ को नहर अफिस नजिकै रहेको भट्टराई परिवारद्वारा सञ्चालित दुर्गामन्दिरको नाममा रहेको एक रोपनी जग्गा ओमशान्ति तथा ब्रह्मकुमारी राजयोग केन्द्र, रामपुरको भवन निर्माणका लागि निःशुल्क सहयोग गरिएको मन्दिरका संरक्षक भोजराज भट्टराईले बताए।

विगत तीन वर्षदेखि रामपुर क्षेत्रमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले शाखा स्थापना गरेर समाजमा शान्ति र सुखमय समाज बनाउने कार्यमा काम गर्दै आइरहेको छ । यस क्षेत्रका स्थानीयवासी यस संस्थाले गर्दै आइरहेको काममा धेरैको सहयोग र आकर्षण बढ्न थालेपछि अहिले भवन निर्माण कार्यको थालनी गरिएको हो ।

राजयोग प्रशिक्षण लगायतका दैनिक प्रवचनका कार्यक्रम सञ्चालन गर्नका लागि भवन निर्माण कार्य शुरु गरिएको ब्रह्मकुमारी रेनु बताउछन् । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय रामपुर शाखाले ल्याएको यस कार्यक्रमलाई रामपुरवासीले सकारात्मक रुपमा लिएर भवन निर्माण कार्यमा सहयोग गर्दै आइरहेका छन् ।