शिक्षा

देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना

काठमाडौँ । रिड नेपाल नामक सामाजिक संस्थाले देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना गरेको छ । सो संस्थाले समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई शैक्षिक ज्ञानको विकास गर्ने उद्देश्य राखेको छ । पछिल्लो पटक विकास गरेका केही पुस्तकालयमा महिला कक्ष, बाल कक्ष, युवा कक्ष, सूचना कक्ष तथा श्रव्यदृश्यको समेत व्यवस्था गरिएको संस्थाका अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए ।

उक्त संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न दातृ संघसंस्थासँग समन्वय गरी पुस्तकालय विकास तथा पुस्तकालयमार्फत विभिन्न सीपमूलक कार्यक्रमसमेत सञ्चालन गरी स्थानीयवासीको सामाजिक रुपान्तरणमा समेत भूमिका निर्वाह गरेको छ ।

सन् १९९१ मा स्थापना भएको सो संस्थाले भूकम्पको समयमा पुस्तकालय क्षेत्र तथा त्यस वरपर क्षेत्रका नागरिकलाई राहत वितरण गरी सामाजिक सेवा सञ्चालन गरेको जनाइएको छ । देशका विभिन्न जिल्लामा रहेका भूकम्पले प्रभाव पारेका ६ वटा पुस्तकालय भने पूरै भत्काएर पुनःनिर्माणसमेत सम्पन्न गरेको छ ।

त्यसैगरी, समुदायमा आधारित समावेशी विपत् जोखिम न्यूनीकरण परियोजनाअन्तर्गत नुवाकोट, दोलखा, स्याङ्जा, मुस्ताङ, महोत्तरी र सोलुखुम्बुमा उत्कृष्ट पुस्तकालय सञ्चालनमा ल्याइएको अधिकृत श्रेष्ठले जानकारी दिए ।