पु.समाचार

म्याग्दीको आस्कागाउँमा खानेपानी आयोजना

बाबियाचौर, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको आस्का गाउँमा ताले खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ ।

गाउँपालिकाद्वारा सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु २७ लाखभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट २८ घरका १९१ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जुद्धबहादुर खत्रीले जानकारी दिए ।

निजी धारा जडान गरेर घरघरमा खानेपानी वितरण गरिएको छ । २०४० सालमा निर्माण भएको आयोजनाको सार्वजनिक धारामार्फत स्थानीयबासीले खानेपानी उपभोग गर्दै आएका थिए । आयोजना निर्माण भएपछि सहज र सुविधा भएको स्थानीयवासी दिलमती सुनारले बताए ।

आयोजना निर्माणका लागि २८ घरधुरीले ९० दिनका दरले श्रमदान गरेका थिए । आयोजनाको बिहीबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरे ।

साबिकको ओखरबोट गाविसमा रु दुई करोड ८५ लाख लागतका छवटा खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेको उनले बताए। निजी धारा जडान गरेर घरघरमा खानेपानी वितरण गरिने वडाध्यक्ष दिलीप शेरचनले बताए ।