साहित्य

प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेती अभिनन्दित

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रदेश नं एकको पहाडी जिल्ला भोजपुरमा अभिनन्दित भएका छन् ।
भाषा तथा साहित्यका विविध विधामा साढे पाँच दशकदेखि निरन्तर साधनारत उप्रेतीलाई उपकुलपति हुँदै कुलपतिको गरिमामय पदमा रहेर नेपाली वाङ्मयको सर्वाङ्गीण उन्नयनका निमित्त पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लिम्बूले बताए।
वाङ्मय परिषद्, भोजपुरका साहित्यिक संस्था नारी साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्य प्रतिष्ठान, साहित्य कला प्रतिष्ठानका साथै काठमाडौँमा कार्यरत संस्था रामप्रसाद राई स्मृति प्रतिष्ठान र अरुण गाउँपालिका सरोकार समाज समेतका छ संस्थाद्वारा कुलपतिलाई संयुक्त रुपमा अभिनन्दन गरिएको थियो ।
जिल्ला समन्वय समिति भोजपुरका उपप्रमुख अनिशा खड्काले ताम्रपत्र र फूलको माला, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले टक्सारको करुवा र भोजपुरे सिरुपाते खुकुरी तथा ज्येष्ठ नागरिक मेजर बलिमान राईले फेटा र पटुका अर्पण गरी कुलपतिलाई अभिनन्दन गरेकाथिए ।
अभिनन्दनपछि कुलपति उप्रेतीले भोजपुर र भोजपुरेजनप्रति कृतज्ञता व्यक्त गरे । प्राज्ञ श्रवण मुकारुङले राज्यको सर्वोच्च वाङ्मयिक संस्था प्रज्ञा–प्रतिष्ठानका कुलपतिलाई पहिलो पटक भोजपुरले स्वागत र अभिनन्दन गर्ने सौभाग्य प्राप्त गरेको बताउँदै यो अभिनन्दन ऐतिहासिक हुने विचार व्यक्त गरे । भोजपुरमा आयोजित ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयको विचारगोष्ठी र ‘बहुभाषिक कविता उत्सव’मा सहभागी हुन भोजपुर पुगेका कुलपति उप्रेतीलाई यस्तो अभिनन्दन गरिएको हो ।