समाचार

१०० सीमास्तम्भ मर्मत, ३१ नयाँ थप

धनगढी । नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत गरेको छ ।

संयुक्तसीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गरेका नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामीले सो क्षेत्रका थप ३१ सीमास्तम्भ निर्माण गरिएको जानकारी दिए । सीमा क्षेत्रमा पर्ने ६५९ सीमास्तम्भको रेकी कार्य (पूर्वेक्षण) गरी निर्माण र मर्मत गरिएको चार नं सीमा सर्भे टोलीका प्रमुखसमेत रहेका धामीले बताए ।

कैलालीको शुरुआतको विन्दु खक्रौलास्थित ७०० नंको सीमास्तम्भदेखि कञ्चनपुरको ब्रह्मदेव नजिकको सीमाको ८११ नं सम्मका सीमास्तम्भको अवस्था भत्केबिग्रेका फेला पारेको पाइएमा तिनको निर्माण गर्ने अधिकार सर्भे टोलीलाई दिइएको थियो । कैलाली जिल्लाको भजनी नजीकको मारियाघाट र धनगढी उपमहानगरपालिकाको फूलबारी सीमा क्षेत्रका बासिन्दाले आफ्नो भोगचलनको जग्गामा सीमास्तम्भ निर्माण गर्न नदिने जनाउँदै विवाद गरेपछि ती दुवै ठाउँमा निर्माण हुनुपर्ने सात सीमास्तम्भको निर्माण हुन नसकेको जनाइएको छ । विवादित क्षेत्रका सीमास्तम्भको बारेमा भने टोलीले आ–आफ्नो देशको माथिल्लो निकायमा जानकारी गराएको बताइएको छ ।

नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत धामी र भारतका तर्फबाट देहरादून नापी कार्यालयका प्रमुख आरसि भट्टको नेतृत्वको टोलीले गत मंसिरदेखि भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रैला सीमा नाकादेखि कञ्चनपुरको पुरानो सीमा बजार ब्रह्मदेव नाकासम्मका सीमास्तम्भको रेकी गरी निर्माण र मर्मत गरेको हो । “दुवै देशका टोलीले संयुक्त रुपमा सर्भेको काम गरेको हो”, धामीले भने, “मारियाघाट र फूलबारीबाहेकका क्षेत्रमा सीमास्तम्भको निर्माण मर्मतमा दुवै देशका नागरिकबाट सहयोग मिलेको थियो ।” टोलीलाई ७ नं प्रदेशका कैलाली, कञ्चनपुरबाहेक, डडेलधुरा, बैतडी र दार्चुला जिल्लामा पर्ने नेपाल–भारत सीमास्तम्भको पनि सर्भेसम्बन्धी काम गर्ने अधिकार दिइएको छ ।

यसैबीच आज यहाँ भएको दुवै देशका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी र सीमा सर्भे टोलीका प्रमुखको संयुक्त बैठकमा सीमा सर्भेसम्बन्धी कार्य प्रगतिको समीक्षा गरिएको छ ।
बैठकमा सीमा क्षेत्रमा देखिने विवाद समाधान आपसी समझदारीबाट खोज्न तथा सीमा सर्वेक्षणलाई आगामी दिनमा प्रभावकारी बनाएर लैजान दुवै देशका अधिकारी सहमत भएको बैठकपछि कैलालीका प्रजिअ ऋषिराम तिवारीले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट कैलाली र कञ्चनपुरका प्रअिज र प्रहरी प्रमुख तथा भारतका तर्फबाट खिरी, पिलिभित, चम्पावत र उदमसिं नगर जिल्लाका डिस्ट्रिक मेजिष्ट्रेट(डिएम), प्रहरी अधिकारीलगायत सहभागी थिए ।