देश

खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा आमाछोरी नै थलिएपछि…

सुरुङ्गा । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा मर्ने रहर कसलाई हुन्छ । तर रोगले थलिएपछि उपचार नपाएर धेरैले यही उमेरमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।

उपचारकै क्रममा भएको जायजेथा सकिँदा आर्थिक सहयोगको अपिल गर्दै साविक राजगढ–५ निवासी ३२ वर्षीया झुमादेवी राजवंशीले आफू बाँच्न र १६ वर्षीया छोरीलाई बचाउन आग्रह गर्दै आउनु भएको हो । गम्भीर प्रकृतिको रोगले सताएको र उपचारका लागि खर्च नहुँदा रोगले छोरी छटपटिएको हेरेर बस्नुपर्दाको पिडासंगै विगत आठ महिनादेखि उनी आफैँ पनि थलिएर बस्नुको विकल्प भएन ।

झुमादेवीले आफ्नो ढाड दुख्ने समस्या शुरु हुनेबित्तिकै गाउँका धामी सहित चिकित्सकलाई पनि देखाउँदा समस्या समाधान भएन भने छोरी नवीता राजवंशीको पनि सानैबाट पेटमा पानी जमेकाले पीडामाथि पीडा छ । छोरीलाई उपचार गर्ने बेलामा आमा नै थलिएपछि राजवंशी परिवारमा अहिले विचल्ली भएको हो ।

झुमादेवीका श्रीमान् नन्द राजवंशीले जेठीबाट छोरा नभएको भन्दै कान्छी श्रीमतीका रुपमा उनलाई भित्र्याएका थिए । उनका दुई सन्तानमध्ये १६ वर्षीया छोरीको पेटमा पानी जमेका कारण शरिरको विकास हुन नसकी अहिले नविता सात आठ वर्षकी जस्तै देखिन्छिन् ।

झुमाका श्रीमान् भारतको राजस्थानमा मजदूरी गर्दै आएका छन् भने उहाँको मेरुदण्डमा ऐजरु पलाएर कम्मरमुनिको भाग नचलेका कारण घरबार पनि लथालिङ्ग भएको छ । यस्तो अवस्थामा स्थानीय कर्णाली बचत तथा ऋण सहकारी संस्थाले उहाँको उपचारका लागि आर्थिक सहयोग त ग¥यो तर त्यत्तिले मात्रै नपुगेपछि सोही सहकारीले समेत सहयोगको अपिल गरेको हो ।

सहकारीका सचिव भूपाल बस्नेतले भने, “सहयोगबाट जम्मा भएको रु एक लाख ५० हजार स्थानीय अस्पतालमा उपचार गर्दागर्दै सकियो तर अस्पताले स्रोतले उनको उपचारमा करिव रु. पाँच लाख लाग्ने बताएको छ ।”

सचिव बस्नेतका बुबाआमाले क्यान्सर रोगका कारण ज्यान गुमाएकाले उनले अहिले आमाबुबाका नाममा गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्था दर्ता गरेको छ । सोही संस्थामार्फत उपचारका लागि सहयोग संकलन गरेर झुमादेवीको उपचार गर्ने उनले बताए।

चिकित्सकको सल्लाहबमोजिम झुमाको काठमाडौँको वीर अस्पतालमा उपचार संभब हुने भएकाले सबैले आ–आफ्नोतर्फबाट सकेको सहयोग गरिदिन उक्त सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठले सबैमा आग्रह गर्नुभयो ।

झुमादेवी राजवंशीको नाममा रहेको उक्त सहकारीको राजगढ सेवाकेन्द्रको खाता नम्बर ००५०७०००३८२मा सक्दो आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका सचिव बस्नेतले पनि जोड दिए।