समाचार

रक्सी नियन्त्रण गर्न यस्तो अपरेसन !

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको छ । कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

“वीरेन्द्रनगर नगरपालिकासहित यहाँका नौवटै स्थानीय तहमा अपरेशन सञ्चालन गरेका छौँ, यसले घरेलु मदिरा नियन्त्रणमा बल पुग्नेछ”, उनले भने । अपरेशनका क्रममा घरेलु मदिरा र त्यसका लागि प्रयोग गरिएका भाँडावर्तन बरामद गरिएको छ ।

प्रहरी उपरीक्षक चतुर्वेदीले हालसम्म १३ हजार घरेलु मदिरा नष्ट गरिएको बताए । पछिल्लो केही समययता प्रहरीले अपरेशन क्लिन–२ नामबाट ‘अवैध मदिरा नियन्त्रण’ अभियान सञ्चालन गर्दैआएको छ ।