स्वास्थ्य

डोल्पाका दुई वडालाई पूर्ण खोप घोषणा !

दुनै, डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने वडा नं १ र २ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ ।

नगरका दुई वडामा भएका ८१ जना बालबालिकाले जन्मदेखि दुई वर्षसम्म लगाउनुपर्ने ११ प्रकारका खोप पूरा गरेका आधारमा पूर्ण खोप वडा घोषणा गरिएको स्थास्थ्य चौकी त्रिपुराकोटका प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए । पूर्ण खोप वडा घोषणासँगै दिगोपना पनि आवश्यक भएको स्वास्थ्य चौकी प्रमुख तुलबहादुर श्रेष्ठले बताए ।

सरकारको खोप तालिकाअनुसार कुनै पनि गाउँ क्षेत्र भित्रका दुई वर्षसम्मका बालबालिकालाई जन्मदेखि दुई वर्षसम्म ११ वटा खोप पूरा गरेपछि मात्रै पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गर्न मिल्ने प्रावधान छ । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा आयोजित कार्यक्रममा नगर प्रमुख ओमबहादुर बुढाले अहिले पूर्ण खोप घोषणा गरेर मात्रै नहुने र यसलाई निरन्तर रुपमा सर्वसाधारणको घर–घरमा पुगेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा नगरका विभिन्न विद्यालयका अध्ययनरत विद्यार्थीले जनस्वास्थ्य शिक्षासम्बन्धी चेतना फैलाउने नृत्य, सडक नाटक र कविता प्रस्तुत गरेका थिए । साबिकको त्रिपुराकोट गाविसका नौ वडाका नौ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मानितसमेत गरिएको थियो ।