खेलकुद

स्पोर्टस् अवार्डका लागि डिस मिडियाको साथ

काठमाडौँ । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेफ)ले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डका लागि डिस मिडिया नेटवर्कले रु सात लाख बराबरको प्रायोजन गर्ने भएको छ ।

मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत (सिइयो)ले उक्त अवार्ड कार्यक्रमका लागि रु सात लाख बराबरको रकम दिइने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त रु सात लाखमध्ये चार लाख ७० हजार नगद र दुई लाख ३० हजार बराबरको डिस होम सेटअप बक्स रिचार्ज डिस मिडियाले उपलब्ध गराउनेछ ।

यस सम्झौतासँगै अब उक्त अवार्डको नाम ‘एनएसजेफ पल्सर स्पोर्टस अवार्ड २०७४ इन एशोसिएशन विथ डिस होम एक्सन स्पोर्टस’ हुनेछ ।

विसं २०७४ मा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल अधिकारीलगायत विभिन्न आठ विधामा उत्कृष्ट घोषित हुनेलाई आगामी जेठ ३ गते सम्मान गर्ने कार्यक्रम रहेको छ ।