आर्थिक

सिद्धान्त र प्राथमिकता सम्बन्धमा पूर्व बजेट छलफल

काठमाडौँ । राष्ट्रियसभामा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल शुरु भएको छ ।

अर्थमन्त्री डा युवाराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी बुधबारको बैठकमा प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा बलरामप्रसाद बास्कोटाले अर्थमन्त्रीले प्रस्तुत गरेको प्रस्तावमा समृद्ध नेपाल र सुखी नेपालको लक्ष्य प्राप्त गर्ने मार्गचित्र सकारात्मक रहेको बताए ।

सांसद राधेश्याम अघिकारीले अर्थमन्त्रीले प्रस्तुत गरेको स्वेतपत्रले आँकलन गरेजस्तो मुलुकको आर्थिक अवस्था नरहेको टिप्पणी गरे ।

उनले भने, “शिक्षामा बजेट घटेको छ, उच्च शिक्षा र अनुसन्धानको विषयमा विनियोजन विधेयकले छोएको छैन, सामुदायिक विद्यालयको गुणस्तर कायम गर्ने विषय छोइएको छैन, सुनकोशी कमला डायभर्सनका लागि बजेट ल्याइनुप¥यो, मानव संशाधनबारे अर्थमन्त्रीको स्पष्ट धारणा आउन आवश्यक रहेको छ ।”

सांसद जीवन बुढाले आर्थिक र समृद्धिका आधारले मूलभूत रुपमा बजेटका प्राथमिकताप्रति सहमत भए पनि दुर्गम र सुगमका लागि एउटै बास्केटमा हाल्ने प्रवृत्ति गलत छ भने ।

उनले भने, “पहाड र दुर्गम क्षेत्रका नागरिकले बजेट र प्राथमिकता हेर्न तराई र शहरमा आउनु पर्ने अवस्था अन्त्य हुनुपर्छ, दुर्गम क्षेत्रका लागि आँकलन गरेको बजेट निकै थोरै भएको हुनाले वृद्धि गर्न आवश्यक छ ।

सांसद रामप्रित पासवानले समाजवादी अर्थतन्त्रको खोलभित्र पूँजीवादी अर्थतन्त्रको परिकल्पना गर्नु नै त्रुटि रहेको बताउँदै वर्गीय र जातीय विभेदको समस्या समाधान नगरिकन विकास सम्भव नभएकाले विभेद र कुरीति निरुत्साहित गर्ने बजेट ल्याउन सुझाव दिए ।

उनले बाढीपीडितको समस्यालाई सम्बोधन गर्ने विषय बजेटमा समेटिन आवश्यक रहेको बताउँदै प्राविधिक तथा स्वरोजगार शिक्षाका लागि पर्याप्त बजेट विनियोजन गर्न सुझाव दिए ।

राष्ट्रियसभाको बैठक जारी रहेको छ ।