समाचार

महासंघलाई बिस्तारै परिपक्व र बलियो बनाउनुपर्छ : अध्यक्ष आचार्य

बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघलाई संघीय ढाँचामा लगिएकाले अब त्यसलाई परिपक्व र बलियो बनाउनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का निर्वाचित समितिको पदस्थापन समारोहलाई बुधबार बुटवलमा सम्बोधन गर्दै उनले प्रदेश समिति अधिकारसम्पन्न भएको बताए । उनले केन्द्रले नीतिगत काम गर्ने, प्रदेश समितिले सांगठनिक, प्रदेशका शाखा सञ्चालन गर्ने गरी आफ्ना गतिविधि अघि बढाउन र तत्काल जिल्ला समितिसँग समन्वय गरेर काम गर्नुपर्ने भन्दै नवनिर्वाचित समितिलाई नमूना काम गर्न सुझाव दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले महासंघले केन्द्र, प्रदेश र जिल्ला समितिले तहअनुसारकै सरकारसँग सहकार्य गरेर पत्रकारितालाई अघि बढाउनुपर्ने बताए ।

नवनिर्वाचित २१ सदस्यीय प्रदेश समितिलाई प्रमुख अतिथि महासंघका अध्यक्ष आचार्य र निर्वाचन समितिका संयोजक डिआर घिमिरेले प्रमाणपत्र वितरण गरेका थिए । पदभार ग्रहण गरेपछि नवनिर्वाचित अध्यक्ष मौसम रोकाले संघीय संरचनाको पहिलो कार्यसमितिले पत्रकार पेशागत हकहितमा समर्पित हुने गरी योजना निर्माण गर्ने प्रतिबद्धता जनाए ।

यही वैशाख २२ गते भएको निर्वाचनमा प्रदेश ५ मा प्रत्येक पदमा एकजनाको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको थियो । निर्वाचन समितिले भने बुधबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो ।

महासंघ प्रदेशको अध्यक्षमा मौसम रोका मगर निर्वाचित भएका छन् । यसैगरी, खुल्ला उपाध्यक्षमा भरत केसी, महिला उपाध्यक्षमा दीपा घर्ती, महासचिवमा भेषराज बस्नेत निर्वाचित भएका छन् ।

यस्तै, सचिवमा शुक्रऋषि चौलागाईं, सचिव समावेशीमा सन्तोष दहित, कोषाध्यक्षमा गणेश वली, खुल्लातर्फको सदस्यमा विक्रम खड्का, अशोककुमार खनाल, प्रेमनारायण आचार्य, नन्दराम पौडेल, शोभाकर पन्थी निर्वाचित भएका छन् ।

यसैगरी, महिला सदस्यतर्फ खेमकुमारी पोखरेल (दिपु), सरु राना, सोनकली थारु, सदस्य दलिततर्फ शिवकुमार सुनार, आदिवासी जनजाति सदस्यमा लक्ष्मीमान चौधरी, जनजाति सदस्यमा सुशील श्रेष्ठ, मधेशी सदस्यमा मनोजकुमार श्रीवास्तव, रामविकास चौधरी र ओरिराम चौरसिया निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश–५ समितिका निर्वाचित अध्यक्ष मौसम रोका, उपाध्यक्ष भरत केसी लयायत पदाधिकारी तथा सदस्यहरु