राजनीति

समृद्धि र सुशासनका लागि युवा अभियान- उपाध्यक्ष कटुवाल

काठमाडौँ । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रभात विक्रम कटुवालले मुलुक समृद्धिको अभियानतर्फ गइरहेको हुँदा आम युवालाई जोड्न संघले समृद्धि र सुशासनका लागि युवा अभियान शुभारम्भ गर्न लागेको बताएका छन् ।

आगामी जेठ १ गते संघको २८औं स्थापना दिवसका अवसरमा आयोजना हुने बृहत् कार्यक्रम सफल बनाउनका लागि आज यहाँ आयोजित कार्यक्रममा उपाध्यक्ष कटुवालले बृहत् युवाको उपस्थितिका लागि आह्वानसमेत गरे ।

उनले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका हरेक युवालाई सीप र प्रविधिमा जोडी मुलुकमै रोजगार सिर्जना गर्न विशेष कार्यक्रम राज्यले ल्याउनुपर्नेमा जोड दिए ।

मुलुकको विकासका लागि युवालाई सहीरुपले परिचालन गर्दै युवाको सीप र दक्षतालाई राज्यले सम्मान गर्ने वातावरणको विकास गर्नुपर्ने उपाध्यक्ष कटुवालको भनाइ छ ।

त्यस्तै उनले मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि अज्ञात समूहले गरेको आक्रमणको निन्दा गर्दै सत्यतथ्य पत्ता लगाउन प्रशासनको ध्यानाकर्षण गरे ।