अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री कोरिया पुग्दा कोरियाका किम पुगे सुटुक्क चीन

प्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुगेको समाचार छ । अमेरिकी विदेशमन्त्रीका रुपमा भएको उत्तर कोरियाको यो एक दुर्लभ भ्रमण हो ।

उनी बुधबार उत्तर कोरिया पुगेको बताइएको छ । उनी उत्तर कोरियाली राजधानी प्योङयाङ अवतरण गर्दा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताईएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको बेला विदेशमन्त्री पेम्पेओ उत्तर कोरिया पुगेका हुन् ।

यस भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ । उनले यी दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ ।

उनी अघोषित भ्रमणका लागि त्यहाँ जानुभएको हो । यसबाट अमेरिका र कोरियाबीच हुने भनिएको आसन्न उच्चस्तीय वार्ताको सफलताका लागि सहयोग मिल्ने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।

उन सि दोस्रो पटक भेटवार्ता

उता उत्तर कोरियाली नेता किम जोङ उन चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताका लागि हालै चीन पुगेको पनि अर्को एक समाचारमा जनाइएको छ । उक्त कुराको चीनले पुष्टि पनि गरेको छ ।

उत्तर कोरियाली नेता उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आगामी केही हप्तामा भेटवार्ता गर्ने भएका छन् ।

उक्त भेटवार्ता तय गरिएकोले सो उच्चस्तरीय बैठक हुनु पूर्व नेता उन र सीबीच सो भेट भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनी दुई महिना अघि मात्र पनि चीन गएका । यो भेटवार्ता दुई महिनायताको दोस्रो भेट हो ।

उत्तर कोरियाली नेता उन र चिनियाँ राष्ट्रपति सीले चीनको एक उत्तरी सहर डालियानमा भेटवार्ता गरेको पछि आएर खुलेको छ । त्यस भेटवार्ता गएको सोमबार र मङ्गलबार भएको थियो ।

यसअघिको भेटपछि नै उत्तर कोरियाली नेता उन परमाणु निशस्त्रीकरणका लागि प्रतिबद्ध रहेको आफूले पाएको चीनले बताउदै आएको थियो ।

उता हालैमात्र नेता उनले अमेरिकाको उक्साहटपूर्ण कदमले शान्ति जोखिममा पर्नसक्ने भनी आरोप पनि लगाउनुभएको छ । तर पनि यस भनाइले उत्तर कोरिया र अमेरिकाको उच्चस्तरीय बैठकलाई भने कुनै असर परेको छैन ।

गत अप्रिल २७ मा भएको ऐतिहासिक वार्तापछि दुई कोरियाबीचको परमाणुसम्बन्धी सकारात्मक प्रगति भएको बताइएको छ । -रासस÷एएफपी