देश

बालिका बलात्कार गर्नेलाई भक्तपुर अदालतले सुनायो यस्तो सजाय

भक्तपुर । चौध वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजाय सहितको फैसला गरेको छ ।

बालिका बलात्कार गर्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजायको फैसला गरेको हो ।

अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले न्यायाधीश मातृकाप्रसाद मरासैनीको एकल इजलासले कैद फैसलाका साथै पीडकसँग क्षतिपूर्ति भराउने कुनै कुरा नभएकाले महिला बालबालिका कार्यालयमार्फत रु एक लाखको क्षतिपूर्ति भराउने फैसला भएको बताउनुभयो ।

कक्षा ९ मा अध्ययनरत बालिकालाई सुनच्यौरीले २०७४ साल साउन २ गते राति करीब १० बजे दुवाकोटकै गोरे भण्डारीको मकैबारीमा लगेर बलात्कार गरेको खुल्न आएको हो ।

बालिकालाई बोलाएर एउटा कुरा गर्नुछ भनी मकैबारीमा लगेर आफूले भनेको नमाने मार्ने धम्की दिई बलात्कार गरेको सोही दिन घर पुगेपछि बालिकाले आमालाई बताएकी थिइन् । परिवारले साउन ३ गते प्रहरीमा किटानी जाहेरी दिएपछि महानगरीय प्रहरी बृत्त थिमिको टोलीले सोही दिन सुनच्यौरीलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाएको थियो ।