देश

सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारी

रुपन्देही । बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु गरेको छ ।

खासगरी सडकमा बेवारिसे अवस्थामा रहेका, बिरामी परेर बिचल्लीमा परेका, घरबारविहीन भएका तथा रोगी व्यक्ति सडकमा सुत्ने अवस्थाको अन्त्य गर्न उनीहरुको लगत संकलन शुरु भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिए ।

उनले भन्नुभयो, “बिरामी परेकालाई सेल्टर दिने र उपचार गराएर पुनःस्थापित गराउने उद्देश्य उपमहानगरपालिकाले यस्तो योजना अगाडि ल्याएको छ ।”

मानव सेवा आश्रम र बुटवल उपमहानगरपालिकाबीच भएको सहमतिअनुसार पुनःस्थापित गराउन जग्गा र आवासको व्यवस्था नगरपालिकाले गर्ने र दैनिक सेवा सञ्चालन आश्रमले गर्ने भएको छ ।

बुटवल उपमहानगरपालिका–१३ स्थित जीतगढीमा भवन राखिने र त्यहाँ नियमित गतिविधि सञ्चालनका लागि अन्य विभिन्न संघसंस्थाको सहयोग लिइने बताइएको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मान्छेको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न यस्तो समझदारी गरिएको बताए ।