समाचार

गृहमन्त्रीले रक्सी बन्द गर्न लागेकै हुन् त ? वास्तविक कुरो यस्तो !

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले नेपाललाई रक्सी मुक्त बनाउने भनिएको समाचार बारे गृहमन्त्री थापाले प्रतिक्रिया दिएका छन् । गृहमन्त्री थापाले पूर्ण रुपमा बन्द नगरी अवैध मदिरा बेचबिखन र सेवनलाई नियन्त्रण गर्ने बताएका हुन् । बुधबार बिहान आदिवासी जनजाति महासंघका नेताहरुले मन्त्री थापालाई भेटी रक्सी बन्द गर्न लागेको भन्ने चर्चाबारे गुनासो गरेका थिए ।

आदिवासी जनजातिहरुको पूजाआजामा रक्सी अनिवार्य चाहिने भनि गुनासो गर्दै उनीहरुले भने ‘जनजातिको चाडबाडमा विदा कटौती गरियो, त्यसैगरी सांस्कृतिकरुपमा प्रयोगमा आउने रक्सी उत्पादनमा पनि रोक लगाउन खोजिएको हो कि भन्ने हामीमा आशंका पैदा भएको छ ।’

मन्त्री थापाले आदिवासी जनजाति नेताहरुलाई जवाफ दिदैँ भने, ‘सरकारले कोदोको रक्सी बन्द गरेर हामीले भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् ’उनले अघि भने ‘हामीले जाँडरक्सी पूरै बन्द गर्ने भनेका हैनौं, यसलाई नियन्त्रण गर्ने भनिएको हो । म मगरको छोरो हुँ, यति कुरा मलाई थाहा छ ।’