शिक्षा

१४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा

जाजरकोट । नलगाड नगरपालिकास्थित १४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा गरिएको छ ।

प्रत्येक वडाबाट नमूना विद्यालय बनाउने भन्दै सिफारिश आएपछि नगरपालिकाका शिक्षा शाखाले यहाँका १४ वटा विद्यालयलाई नमूना विद्यालय बनाउने घोषणा गरेको हो ।

नमूना विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको छ । एक मावि र १३ वटा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको शिक्षा शाखा प्रमुख योगेन्द्र आरसीले जानकारी दिनुभयो । नमूना बनाएका विद्यालयमा कम्प्युटर पढाइ शुरु गर्नका लागि एकदेखि दुई वाट सम्मको सोलार वितरण गरिएको नपाका प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

नगरपालिका भित्रका ७२ वटा विद्यालयमा प्राथमिक उपचार बाकस वितरण गरिएको छ । विद्यार्थी बिरामी हुँदा उपचारमा सहयोग होस् भनी उपचार बाकस वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नमूना विद्यालयमा अंग्रेजी पढाइ शुरु गरेसँगै निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्य पनि घटेको छ । विद्यार्थी, शिक्षक र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता नगरपालिकाले नै बनाएर लागू गरेको छ ।