समाचार

सप्तरी कारागारमा दोब्बर कैदीबन्दी

राजविराज । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ ।

करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ ।

पुरुषतर्फको ‘ए ब्लक’ मा १८१ जना र ‘बि ब्लक’ मा ९६ जना पुरुष र महिला ब्लकमा एक बालिकासहित १७ जना कैदीबन्दी राखिएको छ ।

एकसय २५ पुरुष र १० महिला गरी कूल १३५ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने भएकाले पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यतासमेत रहेको कैदीबन्दीले गुनासो गरेका छन् ।

२००८ सालमा निर्माण गरिएको राजविराज कारागार साँघुरो र जीर्ण रहेका कारण पनि कैदीबन्दीलाई समस्या हुने गरेको कारागारले जनाएको छ ।

माटो र ढुंगाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कन सक्ने खतरासमेत रहेको जेलर सत्यनारायण यादवले बताए ।

राजविराज कारागारमा ठाउँ अभावका कारण कैदीबन्दीलाई कोचेर राख्नुपरेका कारण गर्मी महिनाको समयमा धेरै समस्या हुने गरेको कारागारका कैदीबन्दी बताउँछन् ।

कारागारको नाममा रहेको पाँच बिगाहाभन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करीब तीन कट्ठा जग्गा अतिक्रमणमा परेको कारागारका जेलर यादवको भनाइ रहेको छ ।

विद्युत् हुकिङ गर्ने १२ जना पक्राउ

यसैबीच, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले सप्तरी जिल्लाका विभिन्न ठाउँबाट विद्युत हुकिङ गर्ने एक दर्जन व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ ।

प्राधिकरणका प्रमुख चन्द्रनारायण साहका अनुसार दैनिक विद्युत् हुकिङ नियन्त्रण अभियान अन्तर्गत मंगलबार मात्र १२ जनालाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको छ ।

उनीहरुका साथबाट पानी तान्ने छवटा मोटर, दुईवटा पंखा, एउटा एलइडी टिभी बरामद गरिएको उनले बताए । पक्राउ परेकालाई विद्युत् ऐनअनुसार रु पाँच हजारका दरले जरिवाना तिराएर छाडिएको प्रमुख साहले बताए ।