राजनीति

एउटा सिण्डिकेट अन्त्य भएको भोलीपल्टै नयाँ बसपार्कमा अर्को सिण्डिकेट

काठमाडौँ । सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएको छ ।

उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा नयाँ बसपार्कको व्यवस्थापनको अधिकार पाएको ल्होत्से बहुउद्देश्यीय संस्थाको एकाधिकारले यात्रु मारमा पर्न थालेका छन् । यसअघि यातायात समितिले काउन्टर खोलेर टिकट काट्ने गरेकामा आजदेखि ल्होत्सेले मात्र टिकट काट्न थालेको छ ।

ल्होत्सेले विसं २०५७ मा ४५ वर्षका लागि नयाँ बसपार्कको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो । ल्होत्सेलाई काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रको सरसफाइलगायत व्यवस्थापनको काम दिएको हो ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भने ल्होत्सेले टिकट काट्न नपाउने बताउनुहुन्छ । “सम्झौतापत्रमा ल्होत्सेले टिकट काट्न पाउने उल्लेख छैन, टिकट काटेर यात्रुसँग बढी भाडा असुलेको भए यस्तो काम तत्काल बन्द गर्छौँ”–उहाँले भन्नुभयो । यस सम्बन्धमा ल्होत्सेका अधिकारी भने सम्पर्कमा आउन चाहेनन् ।

ल्होत्सेले तोकिएभन्दा तीन प्रतिशत बढी भाडा उठाउन थालेको यातायात सुधारका पक्षमा काम गर्दै आउनुभएका रामबहादुर थापा बताउनुहुन्छ । यातायात व्यवसायी भने सबै कामको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारकै रहेको बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद (सरोज) सिटौला सरकारले द्रुत गतिमा काम गरी यातायात व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन् । यातायात व्यवसायीले समयसारिणी लागू नहुने सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै आयोजना भएको पत्रकार सम्मेलनमा सार्वजनिक घोषणा गरेका थिए ।

राजधानीमै गत शनिबारदेखि नै बिहान बेलुकी सवारी पाउन मुस्किल हुन थालेको यात्रुको गुनासो छ । दहचोककी रमिला भट्टराई यातायात एकाधिकार अन्त्य भयो भन्ने समाचार सुन्न थालेपछि सवारी पाउन नसकिएको बताउउछन् । व्यवसायीले सबै व्यवस्थापन सरकारले गर्ने भन्दै मन लागे सवारी चलाउने मन नलागे नचलाउने गरेका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्याल कम्पनीका सवारीलाई उपत्यकाका सबै स्थानमा व्यवस्थित रुपमा चलाउने तयारी भइरहेको बताउउछन् । कसरी रुट व्यवस्थापन गर्ने भनी १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले गृहकार्य गरिरहेको विभागले जनाएको छ ।

मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सडक कस्तो छ, यात्रु कति छन्, कुनकुन समयमा कति सवारी चाहिन्छ भन्ने अध्ययन भइसकेको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाले यो अध्ययन गरेको हो । अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयलाई पठाइएको विभागले जनाएको छ । बाँकी तीन विकास क्षेत्रमा यस्तै अध्ययनका लागि अर्थ मन्त्रालयले बजेट छुट्याएको उहाँले बताउनुभयो ।

उपत्यकामा एसियाली विकास बैंकको सहयोगमा यस्तै अध्ययन गरी २६६ रुटबाट ६६ मा झार्ने प्रतिवेदन प्राप्त भएको विभागले जनाएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गते विभागले नयाँबसपार्क–सामाखुसी–रत्नपार्क–सिनामंगल रुटमा माइक्रोबस र टेम्पो हटाई १७ वटा ठूला बस चलाउने तयारी भएको छ । यो रुटमा दिगो यातायात प्रालिले सवारी चलाउने छ ।