अन्तर्राष्ट्रिय

अमेरिकालाई च्यालेन्ज गर्ने यो देश !

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको सम्भावित भेटवार्ताको अनुमान चलिरहँदा आणविक युद्धको खतरा टरेको देखिन्छ । तर खासमा आणविक युद्ध विश्वबाट पूरै टरेको छैन ।

अमेरिकाले इरानसँगको आणविक सम्झौताका विषयमा कठोर नीति अपनाउने संकेत देखाएपछि यो खतरा कायम रहेको देखिएको हो । सम्झौता नतोड्नका लागि इरानले बारम्बार चेतावनी दिइरहेको छ ।

अमेरिकाले इरानविरुद्ध तीखो बयान दिइरहँदा इरानका राष्ट्रपति हसन रुहानीले पनि प्रस्ट रूपमा ट्रम्पले यो डीलका विषयमा जस्तो फैसला लिएपनि देशको रक्षाको कुरा आउँदा इरानले कुनै सम्झौता नगर्ने बताए ।

टीभीमा भाषण गर्दै उनले अमेरिकालाई सम्बोधन गरे र प्रस्ट शब्दमा भने, ‘ट्रम्पलाई यो सम्झौता ऐतिहासिक भूल लाग्छ भने रद्दीको टोकरीमा फाले हुन्छ ।’

रुहानीले आफ्नो सुरक्षाका लागि आणविक हतियार बनाउने छुट रहेको र यसमा अर्को देशले कुनै मतलब गर्न नहुने बताए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई सचेत गराउँदै आणविक सम्झौताबाट पछि हटेमा तेस्रो विश्वयुद्ध हुन सक्ने बताएका थिए ।

आणविक सम्झौता तोडिएमा त्यसले हुने हानि कैयौं देशमा अनुभव गरिँदैछ । जर्मनी, फ्रान्स र बेलायतले यो सम्झौताबाट पछि नहट्नका लागि अमेरिकालाई अपील गरेका छन् ।

केही दिनअघि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले अमेरिकाको यात्राका क्रममा यो कुरा झिकेका थिए । बेलायती विदेशमन्त्री जोनसोनले यो सम्झौतामा केही कमजोरी भएपनि त्यसलाई तोड्नुका अन्य विकल्प पनि रहेको बताए ।

इरानसँग आणविक हतियार नभएको र उसले आणविक कार्यक्रम पनि नचलाएको निश्चित गर्नका लागि अन्य विकल्पहरू रहेको उनको भनाइ छ । -एजेन्सी