समाचार

उदयपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण

गाईघाट, उदयपुर । संघीयता कार्यान्वयन भएसँगै उदयपुर जिल्लामा पनि पहिलो पटक सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरले जिल्लाका आठवटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालयले जिल्लाका आठवटा स्थानीय तहहरुका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा सहकारी संस्था र तिनको सञ्चालन गर्ने अधिकार हस्तान्तरण गरेको सहकारी डिभिजन कार्यालय, उदयपुरले बताएको छ ।

हाल जिल्लामा ३२२ सहकारी संस्था सञ्चालन हुँदै आएकोमा तीमध्ये २९२ स्थानीय तहलाई हस्तान्तरण गरेको जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरका प्रमुख अधिकृत जितमान जिमीले बताएका छन् ।

उक्त संस्थामध्ये त्रियुगा नगरपालिकालाई १०६ वटा, लिङचुङबुङ गाउँपालिकालाई छवटा, कटारी नगरपालिकालाई ५७ वटा हस्तान्तरण भएका छन् ।

अन्य स्थानीय तहमा बेलका नगरपालिकालाई २५, रौतामाई गाउँपालिका ३० उदयपुरगढी १४, ताप्ली गाउँपालिका १० र बाँकी प्रदेशलाई हस्तान्तरण गरिएको पनि सहकारी डिभिजन कार्यालय उदयपुरले बताएको छ ।

स्थानीय तहका प्रमुखलाई सहकारी सञ्चालन गर्ने फायल कागजपत्रसहित अधिकारसमेत प्रत्यायोजन गरिएको सहकारी डिभिजन कार्यालयका प्रमुख जिमीले बताए ।

यसअघिनै जिल्लामा महिला विकास, पशुसेवा कार्यालय जनस्वास्थ्य कार्यालयसहितका केही सरकारी कार्यालय स्थानीय तहमा आइसकेका छन् ।

उक्त सहकारी हस्तान्तरण कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारसहितका पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।