आर्थिक

धितोपत्रबारे जानकारी दिन प्रदर्शनी

काठमाडौँ । शेयर बजारको अवस्था, लगानीको प्रकृति तथा धितोपत्र बजारमा विकास भएका प्रविधिका बारेमा आवश्यक जानकारी दिइने उद्देश्यले ‘पूँजी बजार प्रदर्शनी’ हुने भएको छ ।

धितोपत्र बजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डको आयोजनामा यही वैशाख २६ र २७ गते भृकुटीमण्डपमा हुने सो प्रदर्शनीमा नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर र क्रेडिट रेटिङ कम्पनीका १७० वटा कक्ष रहने जनाएको छ ।

बोर्डमा आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीमा शेयरमा लगानी गर्न चाहनेले अत्यावश्यक जानकारी लिन सक्नेछन्, बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले भने ।

प्रदर्शनीमा धितोपत्रसम्बन्धी अध्ययन सामग्री निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ ।

शेयर बजारमा सबैलाई सहभागी गराउने उद्देश्यले २०७३ माघदेखि शुरु गरिएको आश्वा प्रणालीमा हालसम्म दुई हजार ५०० बैंक तथा वित्तीय संस्था सहभागी भइसकेको बोर्डले जनाएको छ ।

यस्तै गत फागुन ११ देखि केन्द्रिकृत आश्वा प्रणालीसमेत लागू गरिएको छ । बोर्डले धितोपत्रको निष्काशनदेखि कारोबारसम्मको समयावधि ५० दिनमा सिमित गरिएको जनाएको छ ।

पूँजी परिचालनका लागि प्राथमिक शेयर निष्काशनमा सहभागी हुने आवेदकलाई न्यूनतम १० कित्ता शेयर दिनैपर्ने व्यवस्था लागू गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वित्तीय अवस्था सन्तोषजनक नभएका जलविद्युत् कम्पनीको साधारण शेयर निष्काशनमा कडाइ गरिएकोसमेत बोर्डले जनाएको छ ।

यसैगरी शेयर दलाललाई विद्युतीयमाध्यमबाटै शेयर खरिद बिक्रीको व्यवस्था मिलाउन आवश्यक निर्देशन दिइएको अध्यक्ष कार्कीले जानकारी दिए ।