कृषि

असिनापानीले २० करोडको केराखेती सखाप

रत्ननगर, चितवन । हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ ।

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ । पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको छ ।

पन्तको १८ बिगाहामा लगाएको केराखेती पूरै नष्ट भएको छ । उनले क्षतिको विवरण संकलन भइरहेको बताए । कालिका– २ र ३ मा तथा भरतपुरको ठिमुरामा पनि केराखेती नष्ट भएको छ ।

“नयाँ लगाएको बिरुवाबाहेक अरु फलेका केरा सबै ढलेर नष्ट भएको छ,” उनले भने । यसअघि पनि पटक पटक केरा व्यवसायीले ठूलो क्षति व्यहोरेका थिए । अधिकांशले केराखेतीको बिमा नगर्दा ठूलो नोक्सानी भएको छ ।

चितवनमा केराखेतीमा ६०० भन्दा बढी किसान संलग्न छन् । उनीहरुमध्ये १६५ किसानले मात्रै बिमा गराएका छन् ।