समाचार

उमेर नपुगी १५ बर्षमा गर्न लागेको विवाह रद्ध

त्रिपुराकोट, डोल्पा । यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको विवाहलाई प्रहरीले बदर गरिदिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका वडा न –४ रङ्ग निवासी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वडा नं २ रुम निवासी १८ वर्षीय गोविन्द बुढाबीच हुनै लागेको विवाह त्रिपुराकोट प्रहरी चौकीेले बदर गरिदिएको हो ।

उमेर नपुगेकी १५ वर्षीया छोरीलाई ललाइफकाइ यही वैशाख २१ गते राति उनको घरबाटै विवाहका लागि भगाएर लगेकाले कारवाही गरी विवाह बदर गरी पाउँ भनी बालिकाका बुबा पुनबहादुर बुढाले भोलिपल्ट उक्त प्रहरी चौकीमा निवेदन दिएका छन् ।

तेस्रो दिन दुबै पक्षका अभिभावकलाई बोलाइ छलफल गराउँदा उमेर नपुगेको पाइएपछि सोमबार हुने भनिएको विवाह बदर गरी उमेर नपुगेसम्म विवाह नगर्न र गरेको पाइएमा कारवाही गरिने कागज गराएर उनीहरूलाई आ–आफ्ना अभिभावकको जिम्मा लगाइएको प्रहरी निरीक्षक रोमहर्ष सिजवालले जानकारी दिए ।