राजनीति

राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्नेलाई छोडीदैँनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश निर्माणमा लागेका बेला अवरोध खडा गर्नेलाई कडा कारवाही गरिने बताएका छन् । राष्ट्रिय सुरक्षामा खलल पार्ने गतिविधि गर्नेलाई कुनै हालतमा नछोदिने ओलीले बताएका हुन्

सोमबार राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिका नाममा वितण्डा मच्चाउनेविरुद्ध सरकार कडा रुपमा उत्रने बताउदैँ  भने, ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन ।’

उनले अघि भने, ‘राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनुपर्छ ।’ ‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो’ उनले भने, ‘कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठीक लाउने ठाउँमा हामी छौं ।’

‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्छ’ प्रधानमन्त्री ओलीले भने, भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुँदैन ।’

राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।