समाचार

नयाँ बसपार्कको नयाँ रुपः टिकट काट्न ड्रेस लगाएका कर्मचारी, फिल्म हलमा जस्तै टिकट काट्न ब्यस्त

काठमाडौं । राजधानीको गोंगबुस्थित नयाँबसपार्कको रुप फेरिदैँ गएको छ । देशकै सबैभन्दा धेरै यात्रुको आवत जावत हुने नयाँ बसपार्कमा टागिएका निजी यातायात व्यावसायीका बोर्ड हटाईपछि नयाँ बसपार्कले साच्चिकै नयाँ रुप फेर्न लागेको हो ।

राजधानीबाट देशभरका प्रायः सबै स्थानसम्म जान प्रयोग गरिदैँ आएको यो बसपार्क सिण्डिकेटको अन्त्य भएपछि होहल्ला मुक्त मात्र नभई बसपार्क व्यवस्थित देखिन थालेको छ । सरकारसँगको समन्वयमा ल्होत्से बहुउद्धेश्यीय प्रालिले आफ्नै टिकट काउन्टर राखेको छ । नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा पाएको ल्होत्सेले यात्रु ठगिने अवस्थाको अन्त्य भएको समेत दाबी गरेकोे छ ।

यात्रुलाई तानातान गरी ठग्ने दलाल आउट
सिण्डिकेट हटेसँगै नयाँ बसपार्कमा यात्रुलार्इ तानातान गरी ठग्ने दलालहरुको पनि अन्त्य भएको छ । काउन्टरमा एकद्वार प्रणाली लागू भएसँगै यात्रुलाई झुक्याएर बढी भाडा असुल्ने दलालहरुको बिगबिगीको अन्त्य भएको हो । नयाँ बसपार्कमा सरकारको निर्देशन अनुसार ड्रेस लगाएका कर्मचारी खटिएका छन् ।

अब पहिला जस्तै यात्रुलाई सास्ती नहुने भन्दै ल्यहोत्सेका महाप्रबन्धक सुनिल कुवरले बताए । उनले भने, ‘अहिलेसम्म नयाँबसपार्क पुग्दा दलालहरु कहाँ जाने भन्दै झोला नै तान्न अइपुग्थे । अब दलालहरुसँग ल्होत्सेको सम्बन्ध हुँदैन । हाम्रा कर्मचारीले तोकिएको भाडादरमा टिकट काट्छन्,’ कुँवरले भने, ‘अब फिल्म हलमा टिकट काटेको जस्तै पारदर्शीरुपमा बसका टिकट काट्ने छौं ।’

निकट भविष्यमा अनलाइन टिकेटिङ सुरु गर्ने तयारी भइरहेको ल्होत्सेले बताएको छ ।