समाचार

करेन्ट लागेका भण्डारीलाई बचाउन अपिल

सुरुङ्गा, झापा । झापाको कचनकवल गाउँपालिका–३ पथरीयास्थित दुर्गाभिट्टाका ३५ वर्षीय टीकाराम भण्डारी अहिले मृत्युसँग जुधिरहेका छन् ।

गत वैशाख १० गते कचनकवल गाउँपालिका–६ बनियानी निवासी तीर्थ दाहालको घरमा रङ लगाउन लाग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका भण्डारीको अहिले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । करेन्टले डढेकाले भण्डारीको दाहिने हात काटिएको छ भने देब्रे हातको पनि हत्केला र कुइनासम्म डढेको छ ।

शरीरका विभिन्न भागमा करेन्ट लागेकाले उनको देब्रे कोखो र खुट्टाको गोलीगाँठोमा समेत गहिरो चोट लागेको छ । अस्पतालमा नौ दिनसम्म सघन उपचार कक्ष (आइसियु)मा राखेर उनको उपचार गरिएकामा अहिले उनलाई एचडियूमा राखेर उपचार गरिँदैछ ।

हाइ भोल्टेजको करेन्ट लागेर बेहोस भएका उनलाई ओमसाई पाथीभरा अस्पतालमा र १८ घण्टापछि थप उपचारका लागि बिर्तामोड ल्याइएको थियो । शरीरको आधाजसो भाग डढेर काम नलाग्ने अवस्थामा अस्पताल ल्याइपु¥याइएका भण्डारीको हातबाट इन्फेक्सन शुरु भएपछि हात काटिएको अस्पताल स्रोतले जनाएको छ ।

दाहालको घरमा गत वैशाख १० गते भण्डारीसहित यदु भट्टराई, सुजन ढुङ्गेल र डिल्लीराम अधिकारीले रंग लगाइरहेका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको थियो । दाहालको तीनतले घर नजिकै हाइटेन्सनको लाइन पनि रहेकाले उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्नासाथ काम गर्दै गरेका साथी भट्टराईले भण्डारीलाई कपडामा समातेर झड्कारेर तानेका थिए । चिकित्सकले उनको उपचारमा कुनै कसर बाँकी नराखे पनि निम्न आर्थिक अवस्था भएका भण्डारीलाई अहिले थप उपचारका लागि आर्थिक अभाव छ ।
उपचार खर्चका लागि घरधनी दाहालसँग पटक–पटक पहल गरिएको भए पनि कुनै चासो नदिएको टीकारामका भाइ डेविड भण्डारीले बताए । उनले भने, दाजुकोे देब्रे हात पनि शल्यक्रिया गरिएको छ । अत्यन्तै निम्न वर्गीय परिवार भएकाले उपचारमा समस्या छ ।

पीडित परिवारले चन्द्रगढीस्थित प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले घरधनीलाई पक्राउ गरेको केही बेरमै रिहा गरेको बताइएको छ । घरधनीले सम्पूर्ण उपचार खर्च व्यहोरेर टीकारामलाई जीविकोपार्जनको व्यवस्था मिलाइदिनुपर्ने पीडित परिवारको माग छ । टीकारामका एक छोरा एक छोरी छन् । तीर्थको घरमा काम गर्दा यसअघि पनि केही कामदारलाई करेन्ट लागेको थियो ।

अहिले टीकारामलाई बचाउन सिङ्गो गाउँ लागेको छ । उनको उपचारमा मोटो रकम लाग्ने भएपछि भण्डारी परिवारमात्र होइन समाज नै अहिले चिन्तित बनेको स्थानीय सोमनाथ लुइँटेलले बताए । उनले भने, “जसोतसो यतिन्जेल थाम्यौँ, अब के गर्ने ? उनले भण्डारीलाई बचाइदिन सबैसमक्ष आग्रह गरे ।

अस्पतालमा भण्डारीलाई हेर्न आएका अधिकांशले सहानुभूति दिँदै आए पनि कतैबाट सहयोग जुटे टीकारामले नयाँ जीवन पाउने थिए लुइँटेलले आग्रह गरे, “म सबैलाई टीकारामको जीवन बचाइदिन अनुरोध गर्छु ।”