स्वास्थ्य

घुम्ती शिविरबाट जनतालाई सेवासुविधा दिइयो

गाईघाट, उदयपुर । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको लिङचुङबुङ गाउँपालिकासहित जिल्लाको मध्य पहाडी क्षेत्रका ग्रामीण भेगका जनतालाई लक्ष्यीत गरेर सञ्चालन गरिएको दुुई दिने घुम्ती शिविर आइतबार सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुर र लिङचुङबुङ गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको दुईदिने उक्त शिविरमा नागरिकता प्रमाणपत्र वितरण, स्वास्थ्य चेकजाँच, पशुसेवा, मल बीउबिजन वितरणसहितका सेवा उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताए ।

जिल्ला प्रशासन कार्यालयको टोलीले सो भेगका झण्डै ३१० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ भने जिल्ला निर्वाचन कार्यालय उदयपुरले २५१ जनाको फोटोसहितको मतदाता नामावली सूची तयार गरिएको सो गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए ।

यस्तै जिल्ला कृषि विकास कार्यालयका टोलीले ९५ जना कृषकलाई आधुनिक प्रजातिका बीउबिजन वितरण गरेको छ भने महिला तथा बालबालिका कार्यालयले १८ जना अपाङ्गता भएकालाई परिचयपत्र दिने सिफारिस गरेको छ ।

यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका टिमले २१० जनाको स्वास्थ्य चेकजाँच र केहीको उपचारसमेत गरेको टोलीका प्रमुख तथा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत खड्काले बताए।

उक्त घुम्ती शिविरमा जाँते, बलाम्ता, बराह, बाँसबोटे, ताम्लिछा, इनामेलगायतका ग्रामीण भेगका जनताले सेवा प्राप्त गरेका थिए ।
ग्रामीण भेगका जनताले सरकारी सेवा प्राप्त गर्न कुनै कठिनाइ नहोस् भनेर प्रशासन र गाउँपालिकाको संयुक्त टोलीले गाउँमा नै सेवा उपलब्ध गराएको उदयपुरका प्रमूख जिल्ला अधिकारी विष्णु कार्कीले बताए ।