शिक्षा

मदरसामा कम्प्युटर शिक्षा

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको अध्यापन शुरु गरिएको छ ।

प्रतापपुर गाउँपालिका–६ मा मदरसा मदिनतूल ओलुम विद्यालयमा कम्प्युटर शिक्षाको अध्ययन शुरु गरिएको हो । मदरसा शिक्षालाई आधुनिकीकरण बनाउनका लागि सो मदरसाले यस जिल्लामा पहिलो पटक यस्तो शिक्षा सञ्चालन गरेको छ ।

विसं २०६५ मा धार्मिक विद्यालय मदरसाका रुपमा स्थापना भएको उक्त मदरसामा उर्दुको साथै नेपाली, गणित, सामाजिक, विज्ञान, अंग्रेजीलगायत विषयमा विद्यार्थीले शिक्षा प्राप्त गर्दै आएका छन् भने यससँगै अब कम्प्युटर शिक्षाको अध्ययन गर्न पाउने भएका हुन् ।
एकमात्र निमाविसरहको शिक्षा प्रदान गर्दै आएको सो विद्यालयमा हाल करीब १६५ मुस्लिम विद्यार्थीले पठनपाठन गर्दै आएको मदरसामा छ वटा शिक्षक चार वटा शिक्षिका रहेको रहेका मदरसाका प्रधानाध्यापक अमिर आजम मियाँले जानकारी दिए । जिल्लामा कूल धार्मिकरुपमा सञ्चालित ५२ मदरसा, एक गोरुकुल र एक गुम्बा रहेका छन् ।

रामग्राम नगरपालिकाको ऐन र कार्यविधि

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सात वटा आवश्यक ऐन र कार्यविधि तयार गरेको छ ।

नगरपालिकाले गर्ने हरेक गतिविधिलाई ऐन नियमअनुसार अघि बढाउन तत्कालका लागि आवश्यक ऐन र कार्यविधि तयार गरेको हो ।
जसअनुसार ऐनतर्फ शिक्षा, सहकारी र नगरपालिकाको प्रशासकीय ऐन लगातका छन् भने कार्यविधितर्फ स्थानीय राजपत्र प्रकाशन कार्यविधि, एफएम रेडियो सञ्चालन कार्यविधि, आर्थिक कार्यविधि र घ वर्गको निर्माण व्यवसायी कार्यविधि रहेका छन् ।

तयार पारिएका ऐन र कार्यविधि तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा लैजान अन्तिम तयारी गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।