अन्तर्राष्ट्रिय

अफगानिस्तानमा छ विदेशी अपहरित

पुल–ए–खुमरी, अफगानिस्तान । अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले छ जना विदेशी र उनीहरूका चालकलाईसमेत अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका छन् ।

विद्युत कम्पनीको उप–केन्द्रमा काम गर्न खाजा अलान क्षेत्रमा खटिएका विदेशी प्राविधिकको समूहलाई विहानै आएका सशस्त्र समूहले काम गर्न जाने क्रममा अपहरण गरिएको प्रहरी प्रवक्ता जाबिहुल्लाह सिजाले सञ्चारकर्मीलाई बताए ।

उनले अपहरणमा परेका विदेशी कुन देशका थिए भन्ने बिषयमा केही खुलाउन चाहेनन् । उनीहरूको राष्ट्रियताबारे नबताइकनै अधिकारीहरूले अपहरणमा तालिवान लडाकूको हात रहेको बताएका छन् ।

प्रहरी प्रवक्ता सिजाले भने, अपहरणमा तालिवान कमाण्डर मुल्लाह शाहेनको हात रहेको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

अपहरित विदेशी सहित उनीहरूका चालकको सुरक्षित रिहाइका लागि सुरक्षाकर्मीले सम्वद्ध सवैपक्षसँग पहल गरिरहेको उनले बताए ।
तालिवान समूहले उक्त घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन ।