समाचार

सरकार गल्यो यसरी भए यातायात ब्याबशायी रिहा

काठमाडौँ । यातायात क्षेत्रमा एकाधिकार अन्त्य गर्ने सरकारको निर्णयमा सहयोग गर्ने तथा यातायात बन्दका आन्दोलनका कार्यक्रम नगर्ने लिखित प्रतिबद्धता जनाएपछि यातायात व्यवसायी महासंघका प्रतिनिधि रिहा भएका छन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा ‘सिण्डकेट अन्त्य गर्ने सरकारको निर्णयमा स्वागत गर्ने तथा अब उप्रान्त यातायात व्यवसायलाई प्रचलित कानूनबमोजिम दर्ता गराई सरकारको कानून नीति अनुकूल सञ्चालन गर्ने’ कागजमा महासंघका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।

यस्तै कागजमा त्यसविरुद्ध गएमा हाम्रो नाममा दर्ता भएका सवारी साधनको रुट इजाजतपत्र खारेज गर्न तथा प्रचलित कानूनबमोजिम जस्तोसुकै कारबाही भोग्न तयार रहेको उल्लेख छ । रिहा हुनेहरुमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव पुण्यप्रसाद सिटौला, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कालगायत छन् ।

आज बिहान गृहमन्त्री रामबहादुर थापाले सरकारको निर्णयमा समर्थन गर्न सहमत भए पक्राउ व्यवसायी रिहा गर्न र अन्यथा उनीहरुलाई अत्यावश्यक सेवा ऐन, २०१४ अनुसार कारबाही अघि बढाउन देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

सिण्डिकेट हटाउने निर्णयविरुद्ध शुक्रबार देशभर यातायात बन्द गरी आन्दोलनमा उत्रिएका करिब १०० जना र शनिबार महासंघका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो ।