देश

मूर्ति चोर प्रहरी कठघरामा, गौतम बुद्ध लगायतका मूर्ति फेला

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वका विभिन्न धातुका मूर्तिलगायत बहुमूल्य वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले काठमाडौँका विभिन्न क्यूरियो पसलबाट विदेशी नागरिकलाई बहुमूल्य धातुका मूर्ति बेच्दै गर्दा क्यूरियो आर्ट दरबारमार्गका सञ्चालक दीपकरत्न शाक्य, क्यूरियो कर्सर्न दरबारमार्गका सञ्चालक सुगतरत्न शाक्य र देवाज आर्ट दरबारमार्गका सञ्चालक शिशिर शाक्यलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेकासँग ब्यूरोले बुद्ध र अन्य मूर्ति २४ थान, विभिन्न धातुबाट बनेका प्रतीमाका पाता १८ थान र पुराना बीचमा प्वाल पारेका सिक्का १०१ थान बरामद गरेको छ । ब्यूरोले आज पत्रकार सम्मेलन गरी पुरातत्व विभागमा दर्ता नगरी आफूखुशी मनपरी रकममा मूर्ति बेचेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिएको हो ।

ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले १२ र १३ औँ शताब्दीको मूर्ति भन्दै करोडौँ रुपैयाँमा बेचेको थाहा पाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । “जति धेरै पुरानो भयो त्यति नै धेरै मूल्य लिने गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ,” उनले भने।

पक्राउ परेका व्यक्तिले ७० वर्षअघिदेखि मूर्ति अमेरिकाको रुविन्स म्यूजियमसम्म बिक्रीवितरण गर्दै आएको अनुसन्धानमा खुलेको कार्कीले बताउनुभयो । नेपालबाट पुरातात्विक मूर्ति खरिद गरी विदेश लैजाने गिरोहको समेत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुंगाले चार किलो तौलको पुरानो बुद्धको मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले आज बा ६० प ३९०६ नं को स्कुटर चेकजाँच गर्दा झोलामा लुकाएर ल्याएको बुद्धको मूर्तिसहित २४ वर्षीय सञ्जय बानियाँलाई पक्राउ गरेको होे ।