अन्तर्राष्ट्रिय

अफगानिस्तानमा १४ जना तालिबान मारिए

गजनी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी १४ जना आतंककारी मारिएका छन् ।

यस झडपमा कम्तीमा पनि १४ जना आतंककारी मारिएका छन् भने १३ भन्दा बढी घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले आइतबार जानकारी दिनुभएको छ ।

मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुलाई एक बसमा आएका तालिबान लडाकू समूहले गरेको आक्रमणपछि दुई समूहबीच झडप भएको बताइएको छ ।

झडपको क्रममा १६ जना आतंककारी मारिएपछि त्यहाँ बाँकी रहेका आतंककारी भागेका थिए ।

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा नेटो सेनाका प्रायः सेना अफगान युद्ध सकिएको घोषणा गर्दै त्यहाँबाट फर्किएकापछि अफगान सुरक्षाबल माथिको आक्रमण बढ्नुको साथै हताहत पनि बढेको पाइन्छ ।

उता अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले गत शुक्रबार पनि हवाई आक्रमणमा परी २२ जना तालिवान लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले बताएका थिए ।

केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिवानहरुले आत्मघाती हमलाका घटनामा वृद्धि गरेका छन् भने सेनाले पनि कारबाहीलाई जारी राखेको छ ।

तालिवान लडाकूले मङ्गलबार साँझपख अफगान सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण सुरु गरेपछि अफगान राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध कारबाही शुरु गरेको थियो ।

हालैमात्र काबुलमा भएको आक्रमणमा परी नौ जना पत्रकार मारिएका थिए । उक्त घटनाको विश्वव्यपी रुपमा निन्दा गरिएको थियो । -रासस÷सिन्ह्वा