स्वास्थ्य

प्रधानमन्त्री ओली अस्वस्थ्य भएको समाचार गलत, वास्तविक कुरो के हो ?

काठमाडौं । त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनियाँले प्रधानमन्त्री अस्वस्थ भएको बताए लगत्तै केही अनलाईन मिडियामा समाचार आएको छ । प्रधानमन्त्रीको अस्वस्थताको कारण देखाउदैँ त्रिवि सभा स्थगित गरेको विषयमा प्रधानमन्त्रीका सहयोगीले आपत्ति जनाएका हुन् ।

आइतवारको त्रिवि सभा अर्थात् सिनेट बैठकमा प्रधानमन्त्री एवं त्रिविका कुलपति प्रधानमन्त्री अनुपस्थित भएपछि उपकुलपति प्रा.डा. तीर्थ खनियाले प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउदै बैठक स्थगित गरिएको जानकारी गराएका थिए ।

‘प्रधानमन्त्री स्वस्थ हुनुहुन्छ, त्रिवि बैठकको कार्यसूची प्रष्ट नभएकोले मात्रै नजानु भएको हो ।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्री शनिवार पुस्तक विमोचन समारोहमा सहभागी हुनुभयो भने आज आइतवार संसद बैठकमा सहभागी हुनुहुनेछ ।’

अर्यालले अगाडि भने, ‘सिनेटका अजेन्डा बारे १५ दिन अगावै कुलपतिलाई खवर गर्नुपर्ने भएपनि उपकुलपतिले तीन चार दिन अघि मात्रै प्रस्ताव दिनुभएको हो। प्रस्ताव अध्ययन गर्न पनि प्रधानमन्त्रीलाई समय लाग्छ । केही प्रस्तावमा प्रधानमन्त्रीले स्पष्टता खोज्नुभएको छ ।’