समाचार

जितगढी किल्ला सडक नाटक समापन

रुपन्देही । बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ ।

बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र संवद्र्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो ।

तत्कालीन सरकारले भारतीय पेन्सन क्याम्पका नाममा जितगढी किल्लामा जग्गा दिने निर्णय गलत भएकाले जनचेतना जगाउन सडक नाटक प्रस्तुत गरिएको अभियानका जिल्ला संयोजक सन्तबहादुर नेपालीले बताए ।

उनले जितगढी वास्तविकता सडक नाटकबाट जनताका माझमा आएको उल्लेख गर्दै जितगढी बचाउनका लागि विभिन्न प्रकारका आन्दोलन जारी रहने बताए । रक्तिम परिवारका कलाकार दलबहादुर विक, लक्ष्मी गुरुङ, डम्मर भण्डारी, दिलीप रसाइलीलगायतका कलाकारले सडक नाटकमा अभिनय गरेका थिए ।

“तत्कालीन प्रचण्ड सरकारले भारतीय पेन्सन क्याम्पका नाममा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, सामरिक महत्वको जितगढी किल्ला नजिकको जग्गा भारतलाई दिने निर्णयले राष्ट्रियतामाथि नै आँच आउने र भारतले जग्गा कब्जा गर्ने आशंका हुन्छ”, रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार नारायण शर्माले भने ।